`

काठमाडौं-५मा प्रदीप पौडेल र ईश्वर पोखरेललाई चुनौति पेश गर्दै रास्वपाका पोखरेल

Nepal One HD ६ माघ २०८२ १७:३१
निर्वाचन विषेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार सस्मित पोखरेलले औपचारिक रूपमा मनोनयन दर्ता गरेका छन्।

पार्टी कार्यकर्ता, समर्थक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागितामा सम्पन्न मनोनयन दर्ता कार्यक्रममा पोखरेलले समावेशी विकास, सुशासन र उत्तरदायी राज्य व्यवस्थाप्रति आफ्नो स्पष्ट राजनीतिक दृष्टिकोण प्रस्तुत गरे।

काठमाडौं-५ मा नै जन्मिएर विद्यालय तहको शिक्षा पूरा गरेका पोखरेल स्थानीय समुदायसँग गहिरो रूपमा जोडिएका युवा नेता हुन्। उनले काठमाडौं विश्वविद्यालयबाट कानुनमा स्नातक पूरा गरेका छन् भने हाल त्रिभुवन विश्वविद्यालयमा सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार नियन्त्रण विषयमा स्नातकोत्तर अध्ययन गरिरहेका छन्। कानुन र नीतिगत ज्ञानसँगै व्यवहारिक अनुभवसमेत हासिल गरेका पोखरेल समकालीन शासकीय व्यवस्थाका चुनौतीहरू बुझ्ने र समाधान खोज्ने उद्देश्यसहित राजनीतिमा होमिएका हुन्।

मनोनयन दर्ता कार्यक्रममा पोखरेलले जवाफदेही राजनीति, नागरिकको आवाजलाई नीतिगत तहमा पुर्‍याउने अभ्यास र प्रणालीगत सुधार आफ्नो राजनीतिक एजेन्डाको केन्द्रमा रहेको स्पष्ट पारे। परम्परागत राजनीतिक अभ्यासबाट आजित जनताका लागि अब नयाँ सोच, स्पष्ट नीति र इमानदार नेतृत्व अपरिहार्य भएको उनको भनाइ थियो।

काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन शाहसँग नजिक रहेर काम गरेका पोखरेल महानगरको शहरी योजना आयोगमा सहायक विज्ञका रूपमा कार्यरत रहँदा शिक्षा क्षेत्रको सुधार, व्यवस्थित शहरी योजना निर्माण र नागरिकका समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

२०७९ सालको प्रदेशसभा निर्वाचनमा समेत उम्मेदवार भएका पोखरेलले यसपटक काठमाडौं ५मा नेकपा एमालेका पूर्वउपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल र नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेललाई चुनौति दिनेछन् ।

नयाँ पुस्ताको प्रतिनिधित्व, सुशासन र प्रणालीगत सुधारको प्रतिबद्धतासहित उनले काठमाडौं–५ मा आशा र विश्वासको वैकल्पिक नेतृत्व प्रस्तुत गरेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *