`

ओखलढुंगामा वृद्धवृद्धाको एकैशैलीमा हत्या शृङ्खला

Nepal One HD १४ माघ २०८२ १६:४१
अपराध

काठमाडौं । ओखलढुंगामा रात शान्त हुँदैन । यहाँ रात पर्दासँगै ढोका थुन्ने बानी मात्र होइन, डर पनि पलाउँछ । किनकि केही महिनायता वृद्ध दम्पती र एकल महिलालाई निशाना बनाउँदै आएको शृंखलाबद्ध हत्या अझै पूर्णरूपमा थामिएको छैन ।

मंगलबार राति जिल्लाको चिशंखुगढी गाउँपालिका–६ मा ८० वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राई आफ्नै घरभित्र मृत भेटिए ।

शव हेर्दा स्वाभाविक मृत्यु भएको नपाइएको ओखलढुंगाका प्रहरी प्रवक्ता विक्रमबहादुर भट्टराईले बताए । उनले नेपालवान एचडीसँग भने, ‘हामी अहिले शव प्रकृति मुचुल्का तयार गर्दैछौँ र घटनाको अनुसन्धान पनि गर्दैछौँ ।’

उनका अनुसार घरको बाकस फुटाएको फेला परेको छ । त्यस आधारमा प्रहरीले घटना लुटपाटका लागि भएको हुन सक्ने जनाएको छ । यस्तै प्रकृतिको घटना एक महिनाअघि भएको थियो ।

गत पुस १५ मा चिशंखुगढी–६ कै भदौरे गैरीगाउँमा किराना पसल चलाउँदै आएका शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया मगरको कोदालो प्रहार गरेर हत्या भएको थियो । त्यसबेला नगद र सुन लुटिएको थियो । शव गोठमा लगेर स्याउलाले छोपिएको भेटिएको थियो ।

त्यसअघि २६ असोजमा सिद्धिचरण नगरपालिका–४ चार्खुमा एकल महिला रत्नकुमारी कटवालको बन्चरो प्रहार गरी हत्या भयो । यी तीनवटै घटनामा निसाना परेको एकान्तमा बस्ने, उमेरले कमजोर र सुरक्षा विहीन नागरिक हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *