दुर्गन्धले खुल्यो एक महिनाअघिको हत्या घटनाको रहस्य, घटनाको कारण प्रेममा शंका
काठमाडौं । बाँकेको डडुवा गाउँपालिका–३ बनकट्टी । गाउँ शान्त थियो । बिहानको घामले आँगन तताइरहेका बेला अचानक दुर्गन्ध फैलिन थाल्यो । गाउँलेको ध्यान राम फेरन कुर्मीको घर पछाडिको वर्षौंदेखि प्रयोगविहीन इनारतर्फ गयो ।
इनारभित्र झुकेर हेर्दा देखिएको दृश्यले सबै स्तब्ध भए, जहाँ सडिसकेको अवस्थामा एक युवतीको शव ।
यही १ माघको त्यो बिहान करिब १०ः३० बजेतिर शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरी टोलीले घटनास्थल पुगेर इनारबाट शव निकाले ।
शरीर यति सडिसकेको थियो कि तत्काल पहिचान असम्भवजस्तै देखिन्थ्यो । तर, कपडा र गहनाले बिस्तारै पहिचान खुल्दै गयो, मृतक थिइन्– सोही गाउँकी २१ वर्षीया बसन्ती गोडिया ।
उनी करिब एक महिनाअघि ‘मामा घर जान्छु’ भन्दै घरबाट हिँडेकी थिइन् । मामाघर भारतको नानापारा हो । उनको परिवारले बसन्ती मामा घर पुगेकी होला भन्ने ठानेको थियो । दिन बित्दै गए तर मामाघर पुगेको कुनै खबर आएन । अनि, परिवार झस्कियो र खोजी थाले तर कतै पत्तो लागेन ।
अन्ततः बसन्तीको शव सढेगलेको अवस्थामा फेला पर्यो । भेरी अस्पतालमा शवको पोस्टमार्टमपछि सार्वजनिक तथ्यअनुसार बसन्तीको मृत्यु ‘इन्ज्युरी टू नेक एण्ड हेड’ अर्थात् टाउको र घाँटीमा गहिरा चोटका कारणले भएको थियो ।
यही घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले अर्को तथ्य फेला पार्यो । त्यो हो– प्रेम सम्बन्ध । बाराका प्रहरी प्रमुख एसपी अंगुर जिसीका अनुसार उनी करिब एक वर्षदेखि छिमेकी राकेश बर्मासँग प्रेममा रहेको अनुसन्धानका क्रममा खुल्यो । राकेशलाई अनुसन्धानको दायरामा ल्याउँदा थप तथ्य खुल्यो– घटना गराउने राकेश नै हुन् ।
एसपी जिसीले नेपालवान एचडीसँग भने, ‘बसन्ती भारतस्थित मामा घर नगएको पुष्टि भएपछि उनका कोही प्रेमी थिए कि थिएनन् भन्ने खोज्यौँ, त्यस क्रममा राकेश उनको प्रेमी भन्ने थाहा पायौँ र अनुसन्धान गर्दै जाँदा प्रेममा शंका लागेपछि घटना गराएको स्वीकारे ।’
उनका अनुसार हत्या भएको रात राकेशले बसन्तीलाई करिब ११ बजे फोन गरेका थिए । उनले ‘सल्लाह गर्नुपर्छ’ भन्दै बोलाएका थिए । विश्वास गरेर बसन्ती नजिकैको लाहारी बारीसम्म गइन् ।
त्यहीँ उनीहरूबीच विवाद चर्कियो । राकेशलाई बसन्तीको अन्य युवकसँग पनि सम्बन्ध रहेको शंका लागेको थियो । त्यही शंकाले विवाद हुँदा राकेशले टाउकामा प्रहार गरे । बसन्ती ढलिन्, सधैंका लागि ।
हत्यापछि राकेशले कुर्मीको वर्षौँदेखि प्रयोगविहीन इनारामा फाले । त्यो उनको अपराध लुकाउने प्रयत्न थियो । तर, एक महिनापछि दुर्गन्धले घटना पत्ता लाग्यो र राकेश कानुनी दायरामा आउनुपर्यो । उनीविरुद्ध प्रहरीले कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान थालेको छ ।
