`

रेशमलाल चौधरीको उम्मेदवारी खारेज विवादमा सुनुवाई गर्दै सर्वोच्च

Nepal One HD १५ माघ २०८२ १३:०१
अपराध

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट कैलाली–१ मा उम्मेदवार दिएका रेशमलाल चौधरीको उम्मेदवारी खारेजसम्बन्धी विवादमा सर्वोच्च अदालतले आज सुनुवाइ गर्दै छ ।

न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा रिटको सुनुवाइ हुँदैछ । यसअघि ढकालको एकल इजलासले निर्वाचन आयोगलाई लिखित जवाफ पेस गर्न आदेश दिँदै अन्तरिम आदेशका लागि छलफल गर्न दुवै पक्षलाई बिहीबार बोलाएको हो ।

चौधरीको उम्मेदवारी निर्वाचन आयोगले अघिल्लो साता खारेज गरिदिएको थियो । उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय बदरको माग गर्दै रेशम सर्वोच्च पुगेका थिए ।

उनी ७ भदौ २०७२ मा भएको टीकापुर घटनामा तीन तहकै अदालतबाट दोषी ठहर भएका थिए । तर, तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला उनको कैद माफी छुट दिने निर्णय भएको थियो ।

कैद माफी छुटको सिफारिस प्रचण्ड सरकारले राष्ट्रपति रामचन्द्र पौडेलकहाँ पठाएको थियो । उक्त सिफारिसअनुसार राष्ट्रपति पौडेलले कैद माफी छुट दिएका थिए ।

यसपछि रेशमले श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी नेपालको अध्यक्ष हुने प्रयास गरे । पारिवारिक र राजनीतिक दुवै लफडा निम्तियो ।

अन्ततः उनले आफू संरक्षक बनेर फेरि नागरिक उन्मुक्ति पार्टी दर्ता गरे । सोही दलबाट उनी आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनेका थिए । तर, टीकापुर घटनामा सबै तहको अदालतबाट दोषी ठहरिएका उनी उम्मेदवार हुन अयोग्य भन्दै आयोगमा उजुरी पर्‍यो।

उजुरीउपर कारबाही गर्दा आयोगले रेशमलाई उम्मेदवार हुन अक्षम ठहर गर्दै उनको उम्मेदवारी खारेज गर्‍यो ।

लगत्तै उनले आयोगले प्रतिशोध साँधेको कडा प्रतिक्रिया दिएका थिए । उनले निर्वाचन आयोगविरुद्ध कानुनी चुनौती दिने बताएका थिए । नभन्दै सर्वोच्च रिट लिएर पुगे । बिहीबार भने सुनुवाइ हुने भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *