१२ जना हत्याको जिम्मेवारी रवि–बालेनले लिनुपर्छ : महेश बस्नेत (भिडियोसहित)
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहे १२ जना हत्याको जिम्मा लिनुपर्ने बताएका छन् ।
कारागारबाट लामिछाने जेन–जी विद्रोहको बेला निकालिएपछि फरार हुने क्रममा १० जना कैदीको मारिएका थिए । फरार भएका एक जना कैदीले काभ्रेमा श्रीमती र अर्का कैदीले धादिङमा आमाको हत्या गरेका थिए । यी १२ जना हत्याको जिम्मा रवि र बालेनले लिनुपर्ने एमाले सचिव बस्नेतले बताएका हुन् ।
‘कि बालेन आऊ कि रवि लामिछाने जेलबाट भाग भनेर उकास्ने को–को हो ? कसको स्टाटसले यिनै उकासिए र रवि १४ हजार कैदीसँगसँगै निस्किए’, उनले आक्रोशित हुँदै भने, ‘उनी निस्किँदा १० जना कैदी मरे, त्यो मध्येको दुई जना कैदीमा एक जना काभ्रे गएर श्रीमती मार्यो र एउटाले धादिङमा आमा मार्यो । त्यो भाग्ने क्रममा १० जना कैदी र आमा र श्रीमती मार्नेगरी १२ जनाको हत्याको जिम्मा रवि लामिछानेले लिनुपर्छ, बालेनले लिनुपर्छ ।’
उकास्ने राजीव बस्नेत, निश्चल बस्नेत र हिमेश पन्तलाई पनि १२ जनाको हत्यामा जिम्मेवार ठहर्याउनुपर्ने सचिव बस्नेतले बताए ।
उनले बालेनलाई ‘घुमन्ते उम्मेदवार’ भन्दै त्यस्ता उम्मेदवारहरूलाई जनताले ‘बाईबाई’ गर्दै रैथाने उम्मेदवारलाई ‘हाईहाई’ गर्नुपर्ने उल्लेख छ ।
‘यसपालिको चुनावमा घुमन्ते उम्मेदवार बाईबाई, रैथाने उम्मेदवार हाईहाई, नेकपा एमाले जिन्दावाद, घुमन्ते उम्मेदवार मुर्दावाद, यो नारा तपाईंले लगाउनुपर्ने छ,’ उनले भने, ‘अहिले घुमन्ते उम्मेदवार देशभरी जाने चलन रास्वपाले निकालेको छ, घुमन्तेहरूलाई घुमाइदिनुहोस्, विकास देखाइदिनुहोस्, समृद्धि देखाइदिनुहोस्, भोट नेकपा एमालेलाई हाल्नुहोस् ।’
बस्नेतकै निर्वाचन क्षेत्र भक्तपुर– २ मा यसपटक रास्वपाका राजीव खत्री उम्मेदवार छन् ।
अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ मा रास्वपाकै बालेन्द्र शाह छन् । यी दुवै उम्मेदवारलाई सचिव बस्नेतले घुमन्ते उम्मेदवार भन्दै उनीहरूलाई पराजित गर्न मतदातासँग आग्रह गरेका हुन् ।
