`

ओलीको दुःखेसो : भदौमा सरकारबाट बाहिरिएपछि दैलेखमा ग्यास उत्पादन भएन

Nepal One HD २२ माघ २०८२ १८:४५
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै ग्यास उत्पादन गरी नेपाली भान्सामा स्वदेशी ग्यास पुर्‍याउने सपना साकार पारिने दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक स्टाटसमा उनले विकासका लागि सपना देख्नु, त्यसलाई साकार पार्ने तयारी गर्नु र त्यसअनुसार कार्यान्वयन गर्नु आवश्यक रहेको उल्लेख गरेका छन्।

ओलीले आफ्नो पहिलो कार्यकालमा भारतसँगको नाकाबन्दीका कारण खाना पकाउने ग्याससहित दैनिक जीवनमा प्रयोग हुने इन्धनको गम्भीर अभाव भएको स्मरण गर्दै, त्यसबेला नेपाली जनताको मनोबल कमजोर नहोस् भन्ने उद्देश्यले स्वदेशमै ग्यास उत्खनन गरी भान्सासम्म पाइपबाट ग्यास पुर्‍याउने योजना अघि सारेको बताएका छन्।

उनका अनुसार सरकारको नेतृत्व गर्दा दैलेखमा मिथेन ग्यासको सम्भाव्यता अध्ययन गरियो र उत्खनन प्रक्रिया अघि बढाइयो। सो क्रममा करिब १ खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यास रहेको पुष्टि भएको र नमूना परीक्षणसमेत सफल भएको ओलीको दाबी छ।

उनले गत मंसिरमै व्यवसायिक उत्पादनको योजना सहित काम अघि बढाइएको भए पनि भदौमा सरकारबाट बाहिरिएपछि परियोजनाको काम रोकिएको उल्लेख गरेका छन्।

राजनीतिक परिवर्तनका कारण महत्वपूर्ण राष्ट्रिय परियोजनाहरू प्रभावित हुनु दुर्भाग्यपूर्ण भएको भन्दै उनले यसप्रति असन्तुष्टि जनाएका छन्।

ओलीले स्वदेशी ग्यास उत्पादनको योजना केवल घोषणामा सीमित नभई ऊर्जा आत्मनिर्भरतासँग प्रत्यक्ष जोडिएको विषय भएको बताएका छन्। उनका अनुसार यस परियोजनाले ग्यास आयातमा निर्भरता घटाउने, विदेशी मुद्रा बचत गर्ने र दीर्घकालीन ऊर्जा सुरक्षालाई सुदृढ बनाउनेछ।

उनले फेरि सरकारमा फर्किएपछि दैलेखको मिथेन ग्यास परियोजनालाई प्राथमिकतामा राखी व्यवसायिक उत्पादनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘हामी फेरि सरकारमा आएपछि आफ्नै उत्पादनको ग्यास प्रयोग गर्ने सपना पूरा गर्नेछौँ,’ओलीले स्टाटसमा उल्लेख गरेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार ओलीको यो स्टाटस आगामी राजनीतिक एजेन्डा र ऊर्जा आत्मनिर्भरताको बहससँग जोडिएको छ। उनीहरूले परियोजनाको निरन्तरता, लगानी, प्रविधि र वातावरणीय पक्षमा स्पष्ट योजना आवश्यक हुने औंल्याएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *