ओलीको चुनाव प्रचार कार्यालयमा बालेन, केहीसँग मिलाए हात, कसे टाप
काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित निर्वाचन प्रचार कार्यालयमा बालेन्द्र शाह (बालेन) पुगेका छन् ।
बालेन ओलीका चुनावी प्रतिस्पर्धी हुन् । आइतबार ओलीको प्रचार कार्यालयमा पुगेर उनी केहीसँग हात मिलाएर बाटो लागे । कोहीसँग दोहोरो संवाद गरेनन् ।
संवाद नगरे पनि त्यहाँ एक जनाले भने, ‘बालेनजी ! भेट भयो, खुसी लाग्यो ।’
ओली र बालेन झापा–५ का चुनावी प्रतिस्पर्धी हुन् । दुवैबीच व्यक्तिगत तहमै तिक्ततापूर्ण सम्बन्ध छ । त्यसमाथि चुनावी प्रतिस्पर्धी भएका छन् ।
ओली पनि यतिबेला चुनाव क्षेत्र झापा–५ मै छन् । बालेन पनि त्यहीँ छन् । दुईले एकअर्कालाई चुनौतीका रूपमा प्रस्तुत गरेका छन् ।
ओली तीनपटक प्रधानमन्त्री भइसकेका र झापाबाट ६ पटक निर्वाचित अग्ला कदका नेता हुन् । बालेन पनि काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख हुन् ।
उनले सार्वजनिक रूपमा नभनिए पनि जेन–जी विद्रोहको मुख्य कमान्डर हुन् जुन विद्रोहले ओलीको सत्ता ढलेको थियो ।
अहिले उनीहरू दुवै चुनावी मोर्चामा आमनेसामने छन् ।
