मिथ्या सूचनाको बाढी आउन थालेपछि ‘एआई तथा एड्भान्स एनालेटिक सेल’ बनाउँदै प्रहरी
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले ‘एआई तथा एड्भान्स एनालेटिक सेल’ गठन गर्न लागेको बताएका छन् ।
मिथ्या सूचनाहरूको बाढी नै आउन थालेपछि प्रहरीले त्यस्ता कसुरमा अनुसन्धान गर्नेगरी छुट्टै सेल गठन गर्न लागेको उनले बताए ।
सूचना प्रविधिको दुरुपयोग हरेक दिन झुटा सामग्रीहरू प्रशारण गर्ने कामले बढवा पाएको र त्यस्ता गतिविधिलाई निगरानी गर्न र कानुनी उपचारका लागि सेलको आवश्यकता भएको उनको भनाइ छ ।
सोमबार काठमाडौंमा आयोजित अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक एक दिवसीय अन्तरक्रियामा बोल्दै उनले छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण देशमा झुटा र गलत समाचारले बढवा पाइरहनु चिन्ताको विषय भएको बताए ।
उनले भने, ‘आजको डिजिटल युगमा सबभन्दा छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मिस इन्फरमेशन हुने, डिसइन्फरमेशन हुने, हेट स्पिज एआईको दुरुपयोग तथा डिजिटल म्यानुपुलेशनबाट सिर्जित झुटा सामग्रीले बढवा पाइरहनु हामी सबैका लागि साझा चिन्ताको विषय हो ।’
उनले राष्ट्रिय सुरक्षाको मर्मलाई सञचारकर्मीहरूले आफ्नो धर्मको रुपमा आत्मासात गर्न जरुरी रहेको पनि बताए ।
