सशस्त्र प्रहरीलाई आक्रमण गरेको आरोपमा वीरगञ्जबाट चार जना पक्राउ, अनुसन्धान गर्दै प्रहरी
काठमाडौं । सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।
वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगञ्जको आदर्शनगरथित अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते र सशस्त्र प्रहरीका दुईवटा सवारीसाधनमा क्षति पुगेको घटनामा संलग्न आरोपमा चार जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको हो ।
पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले आक्रमणमा संलग्नहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।
‘सिसी टिभी फुटेजका आधारमा पहिचान गरेर हामीले सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरेका छौँ । उनीहरूमाथि अनुसन्धान भइरहेको छ, प्रारम्भिक अनुसन्धान सकिएपछि नाम सार्वजनिक गर्छौँ,’ बस्नेतले नेपालवान एचडीलाई बताए ।
भन्सार र सशस्त्रको टोलीले आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा रहेको अवैध गोदाममा सोमबार छापा मारेको थियो । त्यहाँ ठूलो मात्रामा भन्सार छलीर ल्याएको कपडा फेला परेको थियो ।
कपडा बरामद गर्ने क्रममा स्थानीय व्यापारीको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको थियो । हो । सशस्त्र प्रहरीले करिब १२ लाख ५० हजार मूल्यका सामान बरामद गरेको जनाएको छ ।
स्थानीय व्यापारीको आक्रमणमा तीन जना सशस्त्र प्रहरी घाइते भएका थिए । दुईवटा सशस्त्र प्रहरीको गाडीमा क्षति पुगेको थियो ।
