प्रचण्डले जिते, रवि जित नजिक, अरु दलीय नेतृत्व कठिन संघर्षमा
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना भइरहँदा एकाधबाहेक दलका नेतृत्वहरू जितका लागि कठिन सङ्घर्षमा छन् ।
कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई निर्वाचित हुन सहज देखिएको छैन ।
कांग्रेस सभापति थापा सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंहसँग कडा प्रतिस्पर्धामा छन् । अमरेशसँग थापाले मतान्तर निकै कम पारेका छन् । झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रतिस्पर्धामा छन् । बालेन ओलीभन्दा दोब्बर बढी मतले अघि छन् । झापा–३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध रास्वपाका प्रकाश पाठकको सुरुवातदेखि नै अग्रता छ ।
सप्तरी–३ मा जसपा अध्यक्ष उपेन्द्र यादवले रास्वपाका अमरकान्त चौधरीलाई थोरै मतान्तरले मात्रै पछि पारेका छन् । जनमतका अध्यक्ष सिके राउत रास्वपाका रामजी यादवभन्दा झण्डै आधा मतान्तरले पछि छन् ।
उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ रास्वपाकै उम्मेदवार राजुनाथ पाण्डेसँग २ हजार बढी मतान्तरमा संघर्ष गरिरहेका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पनि रास्वपाकै उम्मेदवार शरिन तामाङसँग पछि परेका छन् ।
पार्टी नेतृत्वले निर्वाचन जितेको भनेको नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मात्रै हो । रास्वपा सभापति रवि लामिछानेले पनि निर्वाचन जित्ने निश्चित भएको छ ।
विगतका निर्वाचनहरूको निर्वाचित भएर प्रायः दलहरूका नेतृत्व संसद् आउँथे । तर, यसपटक गम्भीर संकट झेलिरहेका छन् ।
