मिटरब्याज पीडकहरुमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन
काठमाडौं। मिटरब्याज पीडितहरूले सोमबार पनि काठमाडौंमा प्रदर्शन गरे । भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा नियन्त्रणमा लिइएका पीडकहरूलाई तत्काल कडा कारबाही गर्न सरकारसँग माग राख्दै उनीहरू सडकमा उत्रिएका हुन् ।
हाल सो परिसरमा शान्ति तिवारी, विनय टिवटेवालालगायतका मिटरब्याज पीडकहरू नियन्त्रणमा छन् । पीडित मञ्जु श्रेष्ठले लाखौं रुपैयाँ ठगी गर्ने यी पीडकहरूलाई कडा कारबाही गर्न आफूहरू प्रदर्शनमा आएको बताइन् ।
श्रेष्ठले भनिन्, ‘हामी यस्ता कुख्यात मिटरब्याजीहरूलाई निर्मूल पार्नुपर्छ । यिनलाई हदैसम्म कारबाही गर्नुपर्छ । यस्ताहरूलाई समाजबाट तिरस्कार गर्नुपर्दछ भन्ने अभियानमा हामी लागेका छौं । हामी यहाँ ५ सय जनाभन्दा बढी पीडित छौं । तर, ४५ जनाले उजुरी दर्ता गरेका छौँ ।’
अर्की पीडित सुनिता चापागाईँ खतिवडाले पीडकहरूलाई प्रहरीले नियन्त्रणमा लिएकाले कडा कारबाहीका लागि दबाब दिन आफूहरू यहाँ आएको बताइन् । नेपालमा ठगीको शिकार हुनेहरूको संख्या बढ्दो रहेकाले त्यस्ता अपराधीलाई सरकारले उन्मुक्ति दिन नहुने भन्दै उनले आक्रोश व्यक्त गरिन् ।
खतिवडाले भनिन्, ‘एक लाखभन्दा बढी मानिस मिटरब्याज पीडित, भूमिहीन र अनुचित लेनदेनमा परेका छन् । हामी यहाँ मिटरब्याज पीडितले उनीहरूविरुद्ध उजुरी दिएका थियौं । ठगहरूलाई नियन्त्रणमा लिने काम गरेकोमा नेपाल सरकार, नेपाल प्रहरी, जिल्ला अदालत काठमाडौंलगायतलाई हामी धन्यवाद समेत दिन चाहन्छौँ ।’
पीडितहरूले प्रहरी, अदालत र सरकारलाई पीडकहरू नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया शुरु गरेकोमा धन्यवाद दिएका छन् । केही वर्षयता मिटरब्याज पीडितहरू न्यायको माग गर्दै लगातार आन्दोलनमा रहँदै आएका छन् ।
