ओलीको पक्राउप्रति विचलित नभई एकताबद्ध भएर अघि बढ्न महासचिवको निर्देशन (भिडियो)
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउप्रति कडा आपत्ति जनाउँदै यसलाई ‘प्रतिशोधपूर्ण कदम’ बताएका छन्।
शनिबार पार्टी सचिवालय बैठकपछि आयाेजित पत्रकार सम्मेलनमा ओलीको पक्राउले संविधान, लोकतन्त्र र मानव अधिकारप्रति प्रतिबद्ध राजनीतिक शक्तिहरू तथा आम नागरिकलाई गम्भीर रूपमा चिन्तित बनाएको उल्लेख गरेका छन्। उनले यस्तो कदमले मुलुकको लोकतान्त्रिक प्रणालीमै प्रश्न उठाएको बताएका छन्।
पोखरेलले आफ्नो पार्टीले यस घटनाविरुद्ध कानुनी तथा राजनीतिक दुवै मोर्चाबाट दृढ प्रतिवाद गर्ने स्पष्ट पारे। उनले एमाले पंक्तिलाई कुनै पनि परिस्थितिमा विचलित नभई देश, जनता र लोकतन्त्रको पक्षमा एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।
यस्तै, ओलीको पक्राउविरुद्ध पार्टीले देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ। महासचिव पोखरेलका अनुसार चैत १५ गते आइतबार एमाले जिल्ला कमिटीहरूको आयोजनामा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाइनेछ।
