लेखकको रिहाइका लागि दर्ता भयो बन्दी प्रत्यक्षीकरणको रिट
काठमाडौं । रमेश लेखकलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरिएको छ। उनलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गर्दै उक्त रिट दर्ता गरिएको हो।
यसैबीच, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि रिहा गर्न माग गर्दै उनकी पत्नी राधिका शाक्यले छुट्टै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी छन्। दुवै रिटमाथिको सुनुवाइ सोमबार हुने सर्वोच्च अदालतले जनाएको छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमनमा संलग्न रहेको ठहर गर्दै छानबिन आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही प्रतिवेदनका आधारमा वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई शनिबार पक्राउ गरेको हो।
पक्राउपछि दुवैलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो। लेखकलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो भने अस्पतालमा रहेका ओलीलाई भर्चुअल माध्यमबाट उपस्थित गराइएको थियो।
