`

जेन्-जी आन्दोलन : चितवनमा तोडफोड र आगजनीका ८४ वटा घटना दर्ता,९३ जनामाथि मुद्दा दायर

Nepal One HD १६ चैत २०८२ १२:०९
अपराध

चितवन।  भदौ २४ गते जेन्-जी आन्दोलनको दोस्रो दिन आन्दोलनमा तोडफोड र आगजनीमा संलग्न भएकाहरुमाथि कारबाही प्रक्रिया अघि बढेको छ । प्रहरीले सरकारी भवन, निजी घर, राजनीतिक दलका कार्यालय तथा व्यापारिक प्रतिष्ठानमा भएको तोडफोड र आगजनी घटनामा संलग्नहरुमाथि कारबाही प्रक्रिया अघि बढाएको हो । 

भदौ २४ गते  ६२ वटा सरकारी कार्यालय, १० वटा निजी भवन, राजनीतिक दल र सञ्चार माध्यमका ९ वटा कार्यालय तथा ३ वटा व्यापारिक केन्द्रमा तोडफोड र आगजनी भएका थिए।यी  घटना मध्यॆ  ८४ वटा मुद्दा जिल्ला अदालतमा दर्ता भइसकेको जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिनुभयो। 

प्रहरीको अनुसन्धानपछि सरकारी वकिलको कार्यालय चितवनले ७४ वटा आपराधिक उपद्रो, ७ वटा अभद्र व्यवहार, २ वटा चोरी र १ वटा लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरेको हो। घटनामा संलग्न ९३ जनामध्ये ५३ जनालाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको छ।

अदालतमा पेश गरिएका ५३ जनामध्ये ४१ जना धरौटीमा रिहा भएका छन् भने १२ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। पक्राउ परेकामध्ये ७ जना यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। एक जनालाई लागुऔषधसहित पक्राउ गरी सोही मुद्दामा थुनामा पठाइएको छ।

थुनामा पठाइएकामध्ये ५ जनामाथि आपराधिक उपद्रो, २ जनामाथि चोरी र १ जना लागुऔषध मुद्दामा कारबाही भइरहेको छ। साथै, ३ जना धरौटी तिर्न नसक्दा थुनामा गएका छन्।

प्रहरीका अनुसार सरकारी कार्यालय, राजनीतिक दल, निजी व्यक्ति तथा व्यवसायिक संस्थाहरूबाट क्षतिसम्बन्धी निवेदन प्राप्त भएका छन्। कार्की आयोगको प्रतिवेदनअनुसार भदौ २४ गतेको घटनामा सरकारी संरचनाबाहेक ६ वटा राजनीतिक दलका कार्यालय र ५१ वटा निजी घरमा तोडफोड तथा आगजनी भएको उल्लेख गरिएको छ ।

यस्तै, ८६ वटा चार पाङ्ग्रे सवारी, १०६ वटा दुई पाङ्ग्रे सवारी साधन र एउटा सञ्चार गृहमा क्षति पुगेको छ। पूर्ण रूपमा जलेको भाटभटेनी सुपरमार्केटबाहेक जिल्लामा उक्त दिनको हिंसात्मक घटनाबाट कुल १ अर्ब ६१ करोड ८४ लाख २१ हजार ८४० रुपैयाँ ४० पैसा बराबरको क्षति भएको जनाइएको छ।

प्रहरीको  अनुसार भाटभटेनी सुपरमार्केटमा मात्र ६९ करोड ८४ लाख ३० हजार १९२ रुपैयाँ बराबरको क्षति भएको विवरण प्राप्त भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *