चार पटकसम्म ‘हेर्न नभ्याइएको’ रविको राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त मुद्दा पेशीमा राखिएको छ। यसअघि चार पटकसम्म ‘हेर्न नभ्याइएको’ अवस्थामा रहेको यो मुद्दा आजको सूचीमा १२औँ नम्बरमा परेको छ।
लामिछानेले नेपाली र अमेरिकी गरी दोहोरो राहदानी प्रयोग गरेको आरोप लगाउँदै सिन्धुलीका युवराज पौडेल(सफल) ले दुई वर्षअघि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
रिटमा महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउने निर्णय कानुनविपरीत रहेको दाबी गरिएको छ।
तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले २०७९ चैत ६ गते लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेका थिए, जसविरुद्ध युवराज (सफल) सर्वोच्च अदालत पुगेका हुन्।
यसअघि अदालतले तीन पटकसम्म फाइल झिकाउने आदेश दिएको थियो। २०७९ चैत २२ गते न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले कारण देखाउ आदेश जारी गर्दै महान्यायाधिवक्ता कार्यालयसँग उक्त निर्णयको आधार मागेको थियो। सो विवरण प्राप्त भइसकेपछि अब यस मुद्दामा पुनः सुनुवाइ हुन लागेको हो।
