अन्याय भयो भन्दै यस्तो भन्छन् यी गायक
काठमाडौँ । गायक शिव परियारले जेन्जी आन्दोलन छानबिनका लागि गठित आयोगले आफूलाई अन्याय गरेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आयोगको प्रतिवेदनमा आफूलाई ‘भ्रामक सूचना फैलाउने व्यक्ति’का रूपमा उल्लेख गरिएकोमा आपत्ति जनाएका छन् र पुनर्मूल्यांकनको माग गरेका छन्।
सोमबार सार्वजनिक आफ्नो विस्तृत धारणा अनुसार उनले भाद्र २४ गते सामाजिक सञ्जालमा फैलिएको एक समाचारबारे सत्यता बुझ्नका लागि मात्र जिज्ञासामूलक प्रश्न पोस्ट गरेको बताएका छन्। ‘बेपत्ता पारिएका ३२ जना संसद भवनभित्र मृत फेला भन्ने खबर छ, के यो सत्य हो ?’ भन्ने प्रश्न आफूले पुष्टि वा प्रचारका लागि नभई जानकारी लिन राखेको उनको दाबी छ।
उनका अनुसार त्यसपछि प्राप्त प्रतिक्रियाबाट उक्त सूचना भ्रामक रहेको थाहा पाएपछि पोस्ट हटाइएको थियो। तर, केही सामाजिक सञ्जाल पेज र अनलाइन सञ्चारमाध्यमहरूले वास्तविकता नबुझी आफूलाई ‘भ्रम फैलाउने’ व्यक्तिका रूपमा चित्रण गर्दै समाचार प्रकाशित गरेको उनले उल्लेख गरेका छन्।
उही आधारमा गौरी बहादुर कार्कीको प्रतिवेदनमा आफ्नो नाम समावेश गरिएकोप्रति उनले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। यसले आफ्नो व्यक्तिगत प्रतिष्ठा र कलाकारका रूपमा रहेको छविमा नकारात्मक असर परेको उनको भनाइ छ।
परियारले नेपाल सरकारसँग उक्त विषयमा पुनर्विचार गरी आफूलाई परेको अन्याय सच्याउन आग्रह गरेका छन्। साथै, आवश्यक परे सम्पूर्ण सहयोग गर्न तयार रहेको जनाउँदै उनले आम नागरिकलाई भ्रामक सूचनाप्रति सचेत रहन पनि आग्रह गरेका छन्।
