ओली गिरफ्तारीको कारण दिन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ।
न्यायाधीश मेघराज पोखरेल को एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो। ओलीकी पत्नी राधिका शाक्य ले आफ्नो पतिलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेपछि अदालतले उक्त आदेश दिएको हो।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन का क्रममा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा गरिएको कार्यप्रति प्रश्न उठेपछि ओलीमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो।
उक्त घटनाको छानबिनका लागि सरकारले गठन गरेको जाँचबुझ आयोगले ओलीलाई अनुसन्धान गर्न सिफारिस गरेको थियो। आयोगले ओलीसँगै तत्कालीन गृहमन्त्री रमेश लेखक लाई पनि अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको थियो।
सोही सिफारिसका आधारमा शनिबार बिहान ओली र लेखकलाई पक्राउ गरिएको थियो।
