लुम्बिनीमा थन्किएका इभी बस सञ्चालन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
रूपन्देही। रूपन्देहीको लुम्बिनीमा पर्यटकलाई सुविधा दिने उद्देश्यले ६ वर्षअघि ल्याइएका करोडौं मूल्यका विद्युतीय बसहरू बर्षौदेखि सञ्चालनमा आउन सकेका छैनन्। अहिले भने प्रधानमन्त्री कार्यालयको निर्देशनपछि ती बस तत्काल सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको छ।
यसअघि लामो समय प्रयोगविहीन रहेका पाँचवटा विद्युतीय बस काठमाडौँ पठाउने तयारी अन्तिम चरणमा पुगेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार ती बस नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गर्ने तयारी गरिएको थियो। तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चासो देखाउँदै लुम्बिनीमै सञ्चालनको विकल्प खोज्न निर्देशन दिएपछि सो निर्णय रोकिएको हो।
लुम्बिनी विकास कोष का सदस्य सचिव दीपक श्रेष्ठका अनुसार प्रधानमन्त्री कार्यालयबाट बस काठमाडौँ नपठाई लुम्बिनीमै सञ्चालन गर्न मौखिक निर्देशन आएको छ। लिखित निर्देशन आएपछि आवश्यक प्रक्रिया अघि बढाइने उनले बताएका छन्।
बस काठमाडौँ लैजाने तयारी सार्वजनिक भएपछि स्थानीय स्तरमा विरोध भएको थियो। स्थानीय युवाहरूले ज्ञापनपत्र बुझाउँदै बुद्ध जन्मस्थलका लागि ल्याइएका सवारी अन्यत्र लैजानु उपयुक्त नहुने भन्दै लुम्बिनीमै सञ्चालन गर्न माग गरेका थिए।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ का सांसद तौफिफ खानका अनुसार स्थानीय दबाब र प्रधानमन्त्रीको चासोका कारण तत्काल बस सञ्चालन गर्न निर्देशन आएको हो। कानुनी समस्या समाधान गर्दै केही दिनमै बस सञ्चालनमा ल्याइने तयारी भइरहेको उनले बताए।
यी विद्युतीय बस र भ्यानहरू एसियाली विकास बैंक को अनुदान सहयोगमा क्लिन इनर्जी परियोजनाअन्तर्गत २०७७ सालमा ल्याइएका थिए। करिब १३ करोड रुपैयाँ मूल्यका पाँच बस र १४ विद्युतीय भ्यान आयात गरिए पनि सञ्चालन मोडालिटी स्पष्ट नहुँदा प्रयोगमा आउन सकेनन्। सरकारले करिब साढे ३ करोड रुपैयाँ भन्सार शुल्कसमेत तिरेको थियो।
सुरुवातमा यी बस भैरहवा भन्सारबाट काठमाडौँ लगेर सञ्चालन गरिएको थियो, जहाँ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ले उद्घाटन गरेका थिए। पछि लुम्बिनी ल्याइए पनि नियमित सञ्चालन हुन सकेन।
लामो समयसम्म बस र भ्यान घामपानीमा थन्काएर राखिएको भन्दै कोषमाथि लापरबाहीको आरोप लागेको छ। केही भ्यान भने आन्तरिक काममा प्रयोग भइरहेको बताइएको छ।
हाल बसहरू लुम्बिनी विकास कोषको चार्जिङ स्टेशनमा राखिएका छन्। सञ्चालन नहुँदा उपकरण बिग्रने जोखिम बढ्दै गएको छ। यता, बस र भ्यान चार्ज गर्न ३५ करोड रुपैयाँ लगानीमा सोलार प्लान्ट र चार्जिङ स्टेशन बनाइए पनि प्रयोगमा आउन सकेको छैन।
यी बसहरूमा वातानुकूलित, अपाङ्गतामैत्री तथा स्वचालित ढोकासहितका छन् र एक पटक चार्ज गर्दा करिब ४०० किलोमिटरसम्म गुड्न सक्छन्। साथै, कार्डमार्फत भुक्तानी गर्ने सुविधा पनि उपलब्ध रहेको छ।
प्रधानमन्त्री कार्यालयको निर्देशनपछि अब कम्तीमा एउटा बस भए पनि तत्काल सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
स्थानीयले भने यसपटक पनि निर्णय कार्यान्वयनमा ढिलाइ हुन नदिन स्पष्ट योजना र जिम्मेवारी निर्धारण गर्नुपर्नेमा जोड दिएका छन्।
