ग्राहकको खाताबाट पैसा हिनामिना गरेको आरोपमा एनआईएमबीकी एक कर्मचारी पक्राउ
उदयपुर। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको गाईघाट शाखामा कार्यरत एक कर्मचारीलाई ग्राहकको खाताबाट पैसा हिनामिनाको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार, पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-५ की स्थानीय सुनिता बानियाँ रहेकी छन्। उनीमाथि बैंककै उजुरीको आधारमा अनुसन्धान शुरु गरिएको हो।
प्रारम्भिक अनुसन्धानमा बानियाँले ग्राहकहरूको खातामा रहेको रकम दुरुपयोग गरेको देखिएको छ। बैंकले आन्तरिक छानबिन गर्दा रकम हिनामिनाको प्रमाण भेटेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
उपरीक्षक दोङले भने,’उनीसँग थप विवरण लिने काम भइरहेको छ र यस कार्यमा उनी एक्लै छन् कि अन्यको पनि संलग्नता छ भन्ने बारे सूक्ष्म अध्ययन भइरहेको छ।’
हाल बानियाँ प्रहरी हिरासतमा छिन् र उनीमाथि बैंकिङ कसुर तथा ठगीसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दोङले जानकारी दिए।
