`

एमालेको सचिवालय बैठक: देशव्यापी उग्र प्रदर्शन गर्ने घोषणा

Nepal One HD १७ चैत २०८२ १६:२०
नेकपा एमाले

काठमाडौं।पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सडक प्रदर्शनमा सडकमा आएको नेकपा एमालेले आन्दोलनलाई अझ उग्र बनाउने भएको छ। सचिवालयको मंगलबारको बैठकबाट आन्दोलनको स्वरूप फेरेको नेकपा एमालेले सर्वपक्षीय नागरिक संवाद चलाउने निर्णय गरेको हो ।

यसका लागि पार्टीले उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीनबहादुर शाहीलाई जिम्मेवारी तोकेको पार्टी सचिव महेश बस्नेतले जानकारी दिए।

सरकारले ६ महिनाभित्र विश्वविद्यालयमा राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठन हटाउने निर्णय गरेको छ। त्यस्तै, कर्मचारी ट्रेड युनियन खारेज गर्ने निर्णय गरिएको छ। यसविरूद्ध एमालेले जनसंगठनलाई विरोधमा उतार्ने भएको छ। यसका लागि बुधबार ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने निर्णय भएको बस्नेतले बताए।

उनले भने,‘विद्यार्थी तथा पेसागत संगठनहरूसम्बन्धी गरेको गतिविधिका विषय समेटेर सबै जनसंगठनहरूले आ-आफ्नो ढंगले आन्दोलन कार्यक्रम सञ्चालन गर्ने गर्ने छन्।’

मंगलबारको बैठकले संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी बनाउने जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याललाई दिएको उनले बताए। एमाले संसदीय दलको बैठक बुधबार ३ बजे पार्टी कार्यालयमा बस्ने उनले जानकारी दिए।

यसैबीच आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिएको बस्नेतको भनाइ छ। 

सचिवालय बैठकले आन्दोलनलाई निरन्तरता दिँदै थप कार्यक्रम घोषणा गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।  आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय समेत गरिएको छ । 

यस्ता छन् एमालेका आगामी आन्दोलनका कार्यक्रम बुँदागत हेर्नुहोस्:

१. चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलन केन्द्रित बृहत् भेला गर्ने।

२. चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने ।

३. वैशाख ३ गते वडा तहमा भेला गर्ने । 

४. वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने।

५. वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *