एक महिना मै भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक,कुन देशबाट कति ?
काठमाडौं। सन् २०२६ को मार्चमा एक लाख २० हजार ५१६ विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार, दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएको हो ।
मार्चमा दक्षिण एसियाली (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको करिब ३५.४ प्रतिशत हो। यसमध्ये भारतबाट सबैभन्दा धेरै २५ हजार ७२८, श्रीलङ्का १० हजार ७५९, र बङ्गलादेश ४ हजार ६७६ पर्यटक आएका छन्। भारतबाट आउने पर्यटकको उच्च सङ्ख्याले धार्मिक, सांस्कृतिक र छोटो अवधिको भ्रमण प्रवृत्ति अझ बलियो रहेको देखिन्छ।
त्यस्तै, अन्य एसियाली मुलुकबाट पनि पर्यटक आगमन उत्साहजनक देखिएको छ। चीनबाट ११ हजार २२०, म्यानमारबाट ६ हजार २०, र थाइल्यान्डबाट ३ हजार ८९७ पर्यटक नेपाल आएका छन्। जापान, मलेसिया र दक्षिण कोरियाबाट समेत उल्लेख्य आगमन भएको छ। ‘अन्य एसिया’ क्षेत्रबाट कुल ३३ हजार ४३६ पर्यटक भित्रिएका छन्, जुन कुल आगमनको करिब २७.७ प्रतिशत हो।
युरोपेली र अमेरिकी बजारबाट आउने पर्यटकको सङ्ख्या स्थिर रह्यो, उल्लेख्य वृद्धि भएन। पश्चिम एसियामा जारी युद्धको प्रभावले युरोप र अमेरिकाबाट आगमनमा असर परेको बोर्डले जनाएको छ। यद्यपि यी बजारबाट आउने पर्यटक उच्च खर्च गर्ने भएकाले योगदान महत्वपूर्ण छ।
सन् २०२५ को मार्चमा १ लाख २१ हजार ६८७ पर्यटक नेपाल आएका थिए, कोभिड-१९ अघि सोही महिनामा १ लाख २७ हजार ३५१ पर्यटक भित्रिएका थिए। सन् २०२६ को फेब्रुअरीमा १ लाख ५ हजार ४४१ पर्यटक भित्रिएका थिए।
मार्च-अप्रिललाई मौसम, ट्रेकिङ सिजन र साहसिक पर्यटनको मुख्य समय मानिन्छ। तर यस वर्ष पश्चिम एसियामा चर्किँदो युद्ध र सम्बन्धित मुलुकको ‘ट्राभल एडभाइजरी’ का कारण अन्तर्राष्ट्रिय उडान प्रभावित भएकोले उल्लेख्य वृद्धि हुन सकेको छैन।
यो सिजनमा हिमाल आरोहण, ट्रेकिङ, साहसिक र सांस्कृतिक पर्यटनका लागि पर्यटकको आगमन बढ्ने गर्छ। नेपाल पर्यटन बोर्डका सीईओ दिपकराज जोशीले वैश्विक द्वन्द्व र उडान प्रभावित भए पनि आगमन तथ्यांक निराशाजनक नरहेको बताएका छन्।
