`

५०७ जनाविरुद्ध कांग्रेस अनुशासन समितिमा उजुरी,खड्कालाई चेतावनी

Nepal One HD १८ चैत २०८२ १८:११
नेपाली कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन (फागुन २१) का क्रममा अनुशासन उल्लङ्घन गरेको आरोपमा परेका व्यक्तिहरूमाथि अध्ययन गरी चाँडै निष्कर्षमा पुग्ने निर्णय गरेको हो।

बैठक समितिका संयोजक तारामान गुरुङको नेतृत्वमा बसेको थियो।

बैठकमा स्वतन्त्र उम्मेदवार बनेका, प्रस्तावक-समर्थक बसेका, पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध प्रत्यक्ष प्रचारमा संलग्न भएका, अप्रत्यक्ष रूपमा विपक्षीलाई सहयोग गरेका तथा ‘साइलेन्स किलिङ’मार्फत कांग्रेसलाई मत नदिलाउन भूमिका खेलेका व्यक्तिहरूको विषयमा छलफल भएको थियो। त्यस्तै, कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले समेत निर्वाचनमा विपक्षीलाई सहयोग गरेको आरोपबारे पनि समीक्षा गरिएको थियो।

समितिले छानबिनपछि वर्गीकरण गरिएका उजुरीका आधारमा आरोपित व्यक्तिहरूसँग ७ दिनभित्र स्पष्टीकरण माग्ने निर्णय गरेको समितिका सचिव दिनेश थापामगरले जानकारी दिए।

यसैगरी,अनुशासन समितिले  खड्कालाई सचेत गराउने निर्णय गरेको छ । खड्काले आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै नक्कली लेटरप्याड बनाएर अनधिकृत वक्तव्य निकालेको भन्दै सचेत गराउने निर्णय गरेको हो ।

‘विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी मिति २०८२ चैत्र १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकोले सचेत गराइन्छ,’ समिति बैठकपछि समिति सचिव थापामगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खड्काले कार्यवाहक सभापति पद राखेर नेता रमेश लेखकलाई पक्राउ गरेको विरोधमा गत शनिबार पार्टी लेटरप्याडमा विज्ञप्ति जारी गरेका थिए । अब फेरि यस्ता विज्ञप्ति निकालेमा कांग्रेस विधान र प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय पनि समिति बैठकले गरेको छ ।

यस्तै,‘अव उप्रान्त यस किसिमको गलत काम गर्ने जो कोही व्यक्ति उपर नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) र प्रचलित नेपाल कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रीय सदस्य तारामान गुरुङको अध्यक्षतामा रहेको समितिमा केन्द्रीय सदस्यहरू धना खतिवडा र सुवास पोखरेल सदस्य छन् ।

संयोजक  गुरुङका अनुसार खड्कासँग नभएको जिम्मेवारी दाबी गर्दै नक्कली लेटरप्याड प्रयोग गरेर वक्तव्य निकाल्नु गलत भएको ठहर बैठकले गरेको छ।

यस्ता गतिविधि नरोके पार्टीको विधान र प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *