पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
काठमाडौं । पूर्वयुवराज पारस शाहलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। उनलाई बिहीबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो।
उपचारमा संलग्न चिकित्सकका अनुसार बिहीबार बिहान उनको पेसमेकर परिवर्तन गरिएको हो। यसअघि मुटुसम्बन्धी समस्याका कारण बैंककमा पेसमेकर जडान गरिएको थियो। उक्त उपकरणको ब्याट्री सकिएपछि नयाँ पेसमेकर राखिएको चिकित्सकले बताएका छन्।
चिकित्सकका अनुसार मुटुको चाल कमजोर भएपछि शरीरमा पेसमेकर राखिएको हो। हाल शाहको स्वास्थ्य अवस्था स्थिर रहेको र दुई–तीन दिनभित्र डिस्चार्ज गर्न सकिने बताइएको छ।
पेसमेकर मुटुको चाललाई नियमित बनाउन प्रयोग गरिने उपकरण हो। मुटुले आवश्यक चाल उत्पादन गर्न नसक्दा चक्कर लाग्ने, बेहोस हुनेजस्ता समस्या देखिन सक्छन्। यस्तो अवस्थामा मुटुको चाल कायम राख्न शरीरमा पेसमेकर जडान गरिन्छ।
