बर्ड फ्लूको संक्रमण फैलिएपछि,८५ हजार कुखुरा नष्ट
विराटनगर। बर्ड फ्लूको संक्रमण फैलिएपछि कोशी प्रदेशका तीन जिल्लामा झन्डै ८५ हजार कुखुरा नष्ट गरिएको छ। पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अनुसार एच५एन१ भाइरस पुष्टि भएका २२ व्यावसायिक फार्ममा कुखुरा नष्ट गरिएको हो।
वरिष्ठ पशु विकास अधिकृत डा. गंगाराम यादवका अनुसार संक्रमण झापा, मोरङ र सुनसरी जिल्लामा फैलिएको छ। तीमध्ये मोरङका आठ, सुनसरीका १२ र झापाका दुई फार्ममा संक्रमण देखिएको हो।
नष्ट गरिएका कुखुरामध्ये ७० हजार लेयर्स, सात हजार बोइलर प्यारेन्ट, एक हजार बोइलर, चार हजार चल्ला र दुई हजारभन्दा बढी स्थानीय जातका कुखुरा रहेका छन्। कुखुरासँगै ५७ हाँस, दुई लाखभन्दा बढी अण्डा तथा २८ हजार किलो दाना पनि नष्ट गरिएको छ।
संक्रमण थप फैलिन नदिन प्रभावित क्षेत्र वरपर उच्च सतर्कता अपनाइएको छ। साथै पंक्षी तथा पंक्षीजन्य वस्तुको आयात-निर्यात र ओसारपसारमा रोक लगाइएको छ।
निर्देशनालयले अन्य जिल्लामा समेत निगरानी कडा बनाएको छ। एच५एन१ भाइरस पंक्षीबाट मानिसमा सर्न सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।
