सैन्य पार्क घोटालामा दोषी ठहर,पुर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
एजेन्सी। रुसका पूर्व उप-रक्षामन्त्री पावेल पोपोभ लाई भ्रष्टाचारको आरोपमा १९ वर्षको जेल सजाय सुनाइएको छ। सन् २०२४ मा पक्राउ परेका उनीमाथिको मुद्दा मस्कोस्थित विशाल सैन्य-थिम पार्क प्याट्रियट पार्क का आर्थिक अनियमिततासँग सम्बन्धित रहेको बताइएको छ।
यो पार्कलाई कतिपयले ‘रूसको सैन्य डिज्नील्यान्ड’ भनेर पनि चिन्ने गरेका छन्। यस परियोजनाको निर्माण पूर्व रक्षामन्त्री सेर्गेई शोइगु को पहलमा गरिएको हो, जसको उद्देश्य युवापुस्तामा राष्ट्रिय गौरव बढाउने र सोभियत तथा रुसी सैन्य क्षमता प्रदर्शन गर्ने थियो।
पार्कभित्र फायरिङ रेन्ज, एयर बेस, सङ्ग्रहालय, सम्मेलन केन्द्र तथा सैनिक मोजाइकसहित रूसी सशस्त्र बलको ठूलो खाकी रङको क्याथेड्रल पनि रहेको छ।
क्रेमलिनका अनुसार राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त क्याथेड्रलमा प्रयोग भएको एक महत्वपूर्ण धार्मिक चित्र निर्माणमा व्यक्तिगत रूपमा आर्थिक सहयोग गरेका थिए।
रिया नोभोस्तीका सूचनाअनुसार पोपोभ पार्कको विकास र मर्मतसम्भारका प्रमुख जिम्मेवारीमा थिए। अनुसन्धानले उनीसँग मस्कोस्थित आफ्नै निजी सम्पत्ति पुनर्निर्माणका लागि पार्कको बजेटबाट २ करोड ५० लाख रुबलभन्दा बढी रकम दुरुपयोग गरेको ठहर गरेको छ।
तासका अनुसार पोपोभले आरोप अस्वीकार गरेका छन् भने उनका वकिलले फैसलाविरुद्ध पुनरावेदन गर्ने जनाएका छन्। अदालतले उनलाई १९ वर्षको जेल सजायसँगै ८ करोड ५० लाख रुबल बराबरको जरिवाना पनि तोकेको छ।
यसै प्रकरणमा पार्कका निर्देशक तथा रक्षा मन्त्रालयको नवप्रवर्तन विभागका सहायक मेजर जनरल भ्लादिमिर सिश्तेरोभलाई ६ वर्षको जेल सजाय सुनाइएको छ। यस्तै, पोपोभसँगै संलग्न रहेको अर्को अधिकारीलाई पाँच वर्षको जेल सजाय तोकिएको छ।
पूर्व रक्षामन्त्री शोइगुसँग नजिकका कम्तीमा एक दर्जन अधिकारीहरू रूसी सैन्य नेतृत्वभित्रको पद दुरुपयोगसम्बन्धी व्यापक अनुसन्धानको दायरामा परेका छन्।
पोपोभ सन् २०१३ देखि जुन २०२४ सम्म उप-रक्षामन्त्रीका रूपमा कार्यरत थिए। उनलाई गत वर्ष राष्ट्रपतिको आदेशमार्फत पदबाट बर्खास्त गरिएको थियो।
