वैदेशिक रोजगारीमा जाने श्रमिकले अनावश्यक कागजात पेश गर्नुपर्दैन : अध्यागमन
काठमाडौं। अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूलाई विमानस्थलमा अनावश्यक अतिरिक्त कागजात वा बिल-रसीद पेश गर्न नपर्ने स्पष्ट पारेको छ।
शुक्रबार जारी गरिएको सूचनामार्फत विभागले वैदेशिक रोजगारसम्बन्धी अघिल्लो सूचनापछि देखिएको अन्योलप्रति ध्यानाकर्षण भएको जनाएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट प्रस्थान गर्ने क्रममा श्रमिकसँग थप कागजात मागिएको भन्ने विषय सार्वजनिक भएपछि विभागले यसबारे प्रष्ट्याएको हो।
सूचनाअनुसार नेपाल सरकार,गृह मन्त्रालयको निर्णय तथा प्रचलित अध्यागमन कानुनका आधारमा वैध भ्रमण भिसामा विदेश जाने नेपाली नागरिकका लागि कम्तीमा ६ महिना वैध राहदानी,गन्तव्य देशको हवाई टिकट र सम्बन्धित देशको भिसा भए पुग्ने व्यवस्था रहेको छ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि जाने श्रमिकहरूका हकमा सम्बन्धित निकायबाट जारी गरिएको श्रम स्वीकृति र राहदानी जस्ता आधारभूत कागजात भए पर्याप्त हुने उल्लेख गरिएको छ।
अध्यागमन कार्यालयमा यसबाहेक थप कागजात वा बिल-रसीद माग्नु आवश्यक नरहेको विभागले स्पष्ट गरेको छ।
त्यस्तै,अनावश्यक झन्झट सिर्जना नगर्न सम्बन्धित सबै पक्षलाई विभागले आग्रहसमेत गरेको छ।
