के कांग्रेस फेरि फुट्न लागेको हो ?
काठमाडौं । नेपाली कांग्रेस भित्रको शक्ति संघर्ष र आन्तरिक विवाद एकचोटी फेरि उत्कर्षमा छ। जुन सार्वजनिक र राजनीतिक वृत्तमा छताछुल्ल छ। यही बिचमा नेपाली कांग्रेसले पार्टीभित्र देखिएको विवाद समाधानका लागि पूर्वसभापति शेरबहादुर देउवा पक्षसँग संवाद सुरु गर्ने निर्णय गरेको छ।
आज बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसेले महाधिवेशनको वातावरण निर्माण गर्न असन्तुष्ट पक्षसँग छलफल अघि बढाउने निर्णय भएको जानकारी दिए।
उनका अनुसार पार्टी सभापति गगन थापाले स्वयं पूर्वपदाधिकारीसहित सबै शीर्ष नेताहरूसँग संवाद गर्नेछन्।
आजै कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीका नेता पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। तर खड्काले भने अवैधानिक समितिले दिएको निर्देशन नमान्ने प्रतिक्रिया दिएका छन्।
नेता खड्काले यसअघि पनि पार्टीमा अनधिकृत रुपमा वक्तव्य जारी गरेको भन्दै सचेत गराइएको थियो । खड्काले गत सोमवार कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पार्टीको क्रियाशील सदस्यता खारेज भएको घोषणाप्रति आपत्ति जनाएका थिए ।
विज्ञप्ति लगत्तै कांग्रेसले केन्द्रिय अनुशासन समितिको बैठक बोलाएको थियो । १८ चैतमा बसेको अनुशासन समितिले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरे कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।
खड्काले १४ चैतमा कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको सरकारबाट भएको पक्राउको विरोध गरेका थिए । त्यसपछि उनले १७ चैतमा कार्यवाहक सभापतिको हैसियतमै १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमितिको बैठक बोलाएर दुई दिन छलफल गरेका थिए ।
कांग्रेसमा २१ फागुनको निर्वाचन यता निरन्तर विवाद देखिदै आएको छ। विभिन्न गुट उपगुटका नाममा हुने भेला, कार्यक्रमले काङ्ग्रेसभित्रको विवाद दिनप्रतिदिन झन् झन् चुलिदै गएको छ।
कांग्रेसमा गगन थापा नेतृत्वको कार्यसमितिका अलावा अचेल कहिले शेखर कोइराला, कहिले पूर्णबहादुर खड्का, कहिले कृष्णप्रसाद सिटौलाले अलग अलग भेला बोलाउने गरेका छन्। विशेषत: कांग्रेसभित्र यो विवाद २१ फागुनको निर्वाचन यता देखिदै आएको छ।
गत माघ २८- २९ मा काठमाडौँका भृकुटीमण्डपमा कांग्रेसको दोस्रो विशेष महाधिवेशन सम्पन्न भएको थियो। गगन थापा उक्त महाधिवेशनबाट कान्म्ग्रेसा सभापतिमा निर्वाचित भएका थिए। उनकै नेतृत्वमा काङ्ग्रेस प्रतिनिधिसभा निर्वाचनमा सहभागी समेत बन्यो।
तर थापाको नेतृत्वमा चुनावमा सहभागी भएको कांग्रेसले इतिहासकै गम्भीर धक्का खायो। सभापति आफै पराजित भएको यो चुनावमा कांग्रेसले जम्मा ३८ सिट मात्रै जित्यो। यसले विशेष महाधिवेशनमा असन्तुष्ट पक्षलाई झन् आक्रोशित बनायो। जसको परिणाम स्वरुप अहिले काङ्ग्रेसभित्रको विवाद उत्कर्षमा पुर्याएको छ।
