`

कैलाली भन्सार कार्यालयले गर्यो ६ अर्ब ३२ करोड राजस्व सङ्कलन

Nepal One HD ५ वैशाख २०८३ १४:३३
अर्थ समाचार

धनगढी। कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैत मसान्तसम्म ६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाका अनुसार सो अवधिमा भन्सार महसुलतर्फ २ अर्ब २९ करोड ४१ लाख, मूल्य अभिवृद्धि करतर्फ २ अर्ब ५२ करोड २४ लाख, अन्तःशुल्कतर्फ ११ करोड ९९ लाख र अन्यतर्फ १ अर्ब ३९ करोड ५ लाख रुपैयाँ संकलन भएको छ।

चालु आर्थिक वर्षमा ९ अर्ब ७१ करोड १५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा नौ महिनामा लक्ष्यको ६५.१५ प्रतिशत मात्र संकलन भएको छ। चैत महिनाबाहेक कुनै पनि महिनामा लक्ष्य पूरा हुन नसकेको कार्यालयले जनाएको छ।

महिनागत विवरणअनुसार साउनमा ५७ करोड ८० लाख, भदौमा ५३ करोड ७० लाख, असोजमा ६७ करोड ७८ लाख, कात्तिकमा ७२ करोड ५४ लाख, मङ्सिरमा ६८ करोड ९१ लाख, पुसमा ७४ करोड ६५ लाख, माघमा ६८ करोड ८२ लाख र फागुनमा ७६ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले ११ अर्ब १६ करोड २६ लाख रुपैयाँ लक्ष्य राखेकामा ८ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ मात्र संकलन गरेको थियो, जुन लक्ष्यको ७७.६७ प्रतिशत हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *