एकै परिवारका पाँचजना घाइते
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका-१६, फारमस्थित पूर्व पश्चिम राजमार्गमा शनिबार (वैशाख ५) दिउँसो जेसीबीमा कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते भएका छन्।
झरही खोलाबाट रजहरतर्फ जाँदै गरेको ‘अनटेस्ट’ जेसीबीमा सोही दिशातर्फ नारायणगढबाट बुटवल जाँदै गरेको बा १८ च ३३२३ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा कार चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ३४ वर्षीय सागर ज्ञवाली, उनकी श्रीमती ३१ वर्षीया अन्सु पौडेल, तीन वर्षीय छोरा आयान, नौ महिनाका छोरा वेदाक्ष र ५६ वर्षीया आमा कमला ज्ञवाली घाइते भएका जिल्ला प्रहरी कार्यालयका एसपी युवराज खड्काले जानकारी दिए।
मोटरसाइकललाई जोगाउने प्रयास गर्दा कार जेसीबीमा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।
घाइतेहरूको उपचारका लागि नयाँ मेडिकल कलेज चितवन पठाइएको प्रहरीले जनाएको छ।
