एकै परिवारका दुई जनाको मृत्यु
नेपालगन्ज। बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
कोहलपुरबाट राजापुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश बिएए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान गुलरिया नगरपालिका-७ तुलापुरमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको हो ।
दुर्घटनामा गुलरिया नगरपालिका-५ का ५५ वर्षीय भूमि लामिछाने र उनका करिब सात वर्षीय नाति रिहान्स लामिछानेको मृत्यु भएको प्रहरी उपरीक्षक सरोज पौडेलले जानकारी दिए। मृतक लामिछाने योग शिविरमा सहभागी हुन जाँदै गरेका बेला दुर्घटना भएको बताइएको छ।
दुर्घटनामा मृतककी ५० वर्षीया श्रीमती सीता लामिछाने र ६५ वर्षीय स्थानीय सूर्य उपाध्याय घाइते भएका छन्। घाइते दुवै जनाको नेपालगञ्ज नर्सिङहोममा उपचार भइरहेको छ।
प्रहरीका अनुसार एम्बुलेन्स चालक र सवारीसाधन नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको छ।
