`

वार्महोल : के सम्भव छ ब्रम्हाण्डीय यात्रा मिनेटमै?

समीन बरुवाल ८ वैशाख २०८३ १७:४९
फिचर

काठमाडाैं। हामीलाई थाहा छ, हामीले देख्ने आकाशका ताराहरू हामीबाट हजारौँ प्रकाश वर्ष टाढा छन्। यदि हामी प्रकाशको गति अर्थात् प्रति घण्टा तीन लाख किलोमिटरको गतिमा यात्रा गर्‍यौं भने ती ताराहरूसम्म पुग्न हजारौँ वर्ष लाग्छ। यस्तो अवस्थामा ती ताराहरूमा केही सेकेन्डमै पुग्न सकिन्छ भन्ने कुरा अविश्वसनीय लाग्छ।

तर विज्ञानमा यस्तो सम्भावनाबारे कुरा गर्ने एक सिद्धान्त छ-‘द वर्महोल’। यस थ्योरीअनुसार ब्रह्माण्डका टाढा-टाढाका स्थानहरूमा छोटो समयमा पुग्न सकिने सम्भावना हुन्छ।

वर्महोल स्पेस-टाइम अर्थात् ब्रह्माण्डका दुई बिन्दुहरूलाई जोड्ने काल्पनिक सुरुङ । जसबाट लामो दूरी अत्यन्त छोटो समयमा पार गर्न सकिन्छ। यो सुरुङ सीधा वा घुमाउरो हुन सक्छ। यदि वर्महोल ‘ट्राभर्सेबल’ भयो भने यसले स्पेस-टाइममा शर्टकटको काम गर्छ। यसले एउटै ब्रह्माण्ड मात्र होइन, फरक ब्रह्माण्डहरूलाई पनि जोड्न सक्ने सम्भावना देखाउँछ।

वर्महोलको अवधारणा सामान्य सापेक्षता सिद्धान्तबाट आएको हो। सन् १९१६ मा अल्बर्ट आइन्स्टाइनले स्पेस र टाइमलाई एउटै संरचना ‘स्पेस-टाइम’ का रूपमा प्रस्तुत गरेका थिए। उनको अवधारणामा स्पेस र टाइमलाई एकअर्कासँग जोडेर संंयुक्त रूपमा व्यक्त गरिएको थियो। 

‘जब प्रकाशका किरणहरू सूर्य वा ग्रह जस्ता भारी वस्तुको नजिकबाट गुज्रिन्छन्, तब तिनको गुरुत्वाकर्षणका कारण तिनको बाटो मोडिन्छ’, थ्योरीमा भनिएको छ।

आइन्स्टाइनको समीकरणको समाधान सबैभन्दा पहिले श्वार्जशिल्ड नामका वैज्ञानिकले प्रस्तुत गरेका थिए। यस समाधानबाट ब्ल्यर वर्महोल जस्ता चकित पार्ने नतिजाहरू देखापरे। 

वर्महोलका दुई वटा मुख हुन्छन्, जसलाई एक घाँटीले जोडेको हुन्छ। प्रायः यी मुखहरू गोलाकार हुने सम्भावना हुन्छ। घाँटी सीधा मार्ग हुन सक्छ तर यो घुमाउरो पनि हुन सक्छ ।जसले गर्दा सामान्य मार्गभन्दा लामो बाटो लिनुपर्ने अवस्था आउन सक्छ। सामान्य सापेक्षता सिद्धान्तले गणितीय रूपमा वर्महोलको अस्तित्वको सम्भावना देखाउँछ । वर्महोललाई यसको गुरुत्वाकर्षणले प्रकाशमा पार्ने प्रभावका आधारमा पहिचान गर्न सकिन्छ जसमा नकारात्मक द्रव्यमानको भूमिका हुन सक्छ।

सामान्य सापेक्षताको केही समाधानहरूले यस्तो वर्महोलको अस्तित्वलाई अनुमति दिन्छन् । जहाँ प्रत्येक मुख एउटा ब्ल्याक होलसँग जोडिएको हुन्छ। तर प्राकृतिक रूपमा मर्ने ताराको पतनबाट बनेको ब्ल्याक होलले आफैँ भने वर्महोल सिर्जना गर्दैन।

रिलेटिभिटी थ्योरीका गणितीय समीकरणहरूले यसलाई सम्भावनाको रूपमा देखाउँछन् । यसरी धेरै ठूलो दूरी वर्महोलको माध्यमबाट अत्यन्त छोटो हुन सक्छ। तर व्यावहारिक रूपमा यसको प्रमाण अझै पाइएको छैन।  

वर्महोलको निर्माणबारे ठोस प्रमाण छैन।  यो पूर्ण रूपमा गणितीय समीकरणमा आधारित छ। यद्यपि सैद्धान्तिक रूपमा यसले अत्यन्त ठूलो दूरीलाई छोटो बनाउन सक्ने सम्भावना देखाउँछ।

यसै सन्दर्भमा सोफिया विश्वविद्यालयको टोलीले म्याग्नेटिक रिङको मोडेल तयार गरेको छ। जसमा कणहरूको गतिविधिबाट इलेक्ट्रोम्याग्नेटिक फिल्ड उत्पन्न हुने अनुमान गरिएको छ। जसले प्रकाशलाई ध्रुवीकृत गर्न सक्छ।

ध्रुवीकृत रेडियो संकेतहरूका कारण वैज्ञानिकहरूले सन् २०१९ मा एम८७ र स्याजिटेरियस ए का तस्बिरहरू प्राप्त गर्न सफल भएका थिए।

अहिले प्रयोगशालामा साना वार्महोल बनाएर वार्महोलबारे खोज गर्न कयौं वैज्ञानिकहरु लागेका छन्। 

वैज्ञानिकहरूका अनुसार पृथ्वीमा साना वर्महोलहरू हुन सक्छन्, तर ती प्रायः बन्द अवस्थामा रहने र कहिलेकाहीँ मात्र खुल्ने अनुमान गरिएको छ। वार्महोलको सांकेतिक उल्लेख प्राचीन आर्ष साहित्यमा पनि पाइन्छ। महाभारतको वनपर्वको तीर्थयात्रामा  बन्दी नामक एक पण्डितले यज्ञको आयोजनका लागि विद्वान ब्राह्मणहरूलाई समुद्री मार्गबाट वरुण लोक पठाएका थिए। भनिन्छ- यज्ञपछि उनीहरू सुरक्षित रूपमा पुनः त्यही मार्गबाट पृथ्वीलोक फर्किएका थिए। 

त्यतिबेला मानिसहरू अन्य लोकको बाटोको विद्यामा निपुण थिए। यदि त्यस्तो नहुँदो हो त उनीहरूको फर्किन सम्भव हुँदैनथ्यो। यी व्याख्याहरू वैज्ञानिक रूपमा भने प्रमाणित छैनन्। यद्यपि,वार्महोलको सिद्वान्त अहिलेसम्म थ्योरी मै सिमित छ। यदि वर्महोलको वास्तविकता विज्ञानले प्रमाणित गर्‍यो भने ब्रह्माण्डको हजारौँ किलोमिटरको यात्रा मिनेटमै गर्न सम्भव हुनेछ। 

वार्महोललाई टाइम मेसीनका रूपमा पनि मानिन्छ। जसको माध्यमबाट मानिस भूतकाल वा भविष्यकालमा यात्रा गर्न सक्छ।

गणितीय रूपमा पूर्ण सुदृढ वर्महोल विज्ञानको निःसन्देह एक रहस्यमयी र अचम्मको थ्योरी हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *