गोरखा भूकम्पको ११ वर्ष,अझै पाउन सकेनन् दलितले व्यवस्थित घर (तस्वीरहरू)
गोरखा। खोल्साको छेउमा रहेको सानो बस्ती, झुत्रा त्रिपालले ढाकिएका जीर्ण टहरा र अस्तव्यस्त जीवन-यही यथार्थमा २४ दलित परिवार विगत ११ वर्षदेखि बस्दै आएका छन्। होचो र साँघुरो टहराभित्र धुवाँले कालाम्य भएका भित्ताहरू, छानो र त्यही धुवाँबीच छरिएका सामानहरू उनीहरूको दैनिक जीवनको हिस्सा बनेका छन्।
टहराभित्र न झ्याल छ, न सुरक्षित ढोका। जस्ताको पाताले बारेर दुई भाग बनाइएको सानो संरचनामा आधारभूत सुविधाको अभाव छ। प्रहरी चौकी नजिक भएकाले चोरी-लुटपाटको डर नभए पनि हावाहुरी र वर्षाले त्रिपाल उडाउने त्रास भने सधैं रहन्छ।
२०७२ साल वैशाख १२ गतेको भूकम्पपछि यहाँ बसोबास सुरु भएको हो। ५७ वर्षीया माइती माया सुनार भन्छिन्, ‘पहिले डाँडागाउँको गैरीगाउँमा ढुङ्गा-माटोको घर थियो। भूकम्पले घर भत्कियो, पहिरोको जोखिम बढेपछि यहाँ आउनुपर्यो। त्यसयता त्रिपालमुनि बसिरहेका छौं।’
बस्तीमा २४ घरपरिवारका लागि जम्मा दुई वटा शौचालय मात्र छन्, ती पनि व्यवस्थित छैनन्। पानीको अभाव र सरसफाइको समस्या उस्तै छ। ३२ वर्षीय समिर सुनारका अनुसार करिब ६०-७० जना एउटै असुविधायुक्त संरचनामा बस्दै आएका छन्।
गर्मीमा अत्यधिक गर्मी र जाडोमा अत्यधिक चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी महिलाले कष्टकर जीवन बिताइरहेका छन्। बस्तीका अगुवा सुकबहादुर विकका अनुसार धेरै ज्येष्ठ नागरिकमा निमोनियाको समस्या देखिएको छ, कतिपयको ज्यानसमेत गइसकेको छ।
२०७२ को भूकम्पले बारपाक क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। त्यसपछि डाँडागाउँ, गैरीगाउँ र कोटडाँडाका ४१ दलित परिवारले सरकारी जग्गामा अस्थायी टहरा बनाएर बस्न थालेका थिए। समयसँगै केही परिवार फर्किए पनि २४ घरधुरी भने अझै फर्किन सकेका छैनन्।
यी परिवारले आफ्नो जग्गाको लालपूर्जा सरकारलाई बुझाएर सट्टापट्टाको प्रक्रिया पूरा गरी स्वीकृति पाइसकेका छन्। तर स्थानीय राजनीतिक विवादका कारण उनीहरूले अझै स्थायी घर बनाउन पाएका छैनन्।
बस्तीका अगुवा विक भन्छन्, ‘हामी धेरै पटक सिंहदरबार धायौँ। सरकारले जग्गा दिने स्वीकृति दिइसकेको छ, तर स्थानीय राजनीतिक कारणले अहिलेसम्म व्यवस्थित बसोबास गर्न पाएका छैनौँ।’


