`

मागेको धोतीले मेरो लाज छोपिन्न : आङ्गदेम्बे

Nepal One HD २७ जेठ २०८३ १६:१५
फिचर

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्ति कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वाभिमान र राष्ट्रियताप्रतिको आफ्नो प्रतिबद्धता व्यक्त गर्न वरिष्ठ गायक तथा गीतकार गोपाल योञ्जनको चर्चित राष्ट्रवादी गीत उद्धृत गरेका थिए।

आङ्देम्बेले संसदमा भने, ‘खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छोपिन्न। घोटिएर हातपाउ झरि जाऊन् औँला, तर कोही अगाडि यी हात जोडिन्न।’ उनले उक्त गीतमार्फत नेपाली जनताको स्वाभिमान र राष्ट्रिय अस्मिताको भावना झल्किने बताए।

उनले नेपालले भारतको भूमि कहिल्यै नमिचेको दाबी गर्दै विभिन्न ऐतिहासिक तथ्य र प्रमाणहरूले उल्टै भारतले नेपाली भूमि अतिक्रमण गरेको देखाएको बताए। यद्यपि प्रधानमन्त्री शाहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको आशयको अभिव्यक्ति दिएको भन्दै त्यसप्रति आफूहरूले गम्भीर प्रश्न उठाएको उनको भनाइ थियो।

आङ्देम्बेले प्रधानमन्त्रीले आफ्नै अभिव्यक्तिमाथि संसदमा प्रश्न उठेपछि उपस्थित भएर जवाफ दिनुपर्नेमा त्यसो नगरेको आरोप लगाए। प्रधानमन्त्रीको अनुपस्थितिका कारण संसद लामो समयसम्म अवरुद्ध हुन पुगेको उल्लेख गर्दै उनले संसदलाई निकास दिन विपक्षी दलहरू नै जिम्मेवार ढंगले अघि बढेको बताए।

यसअघि जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले “भारतले नेपालको मात्र होइन, नेपालले पनि धेरै ठाउँमा भारतको भूमि मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइपछि विपक्षी दलहरूले संसदमा निरन्तर विरोध जनाउँदै आएका थिए।

प्रधानमन्त्रीको सो अभिव्यक्तिबारे बुधबार परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा सरकारको धारणा प्रस्तुत गरेका थिए। उनले नेपाल–भारत सीमा सम्बन्धी विषयमा सरकारले आफ्नो आधिकारिक अडान स्पष्ट गरिसकेको बताए। विशेषगरी नेपाली भूमि लिपुलेक हुँदै भारतले मानसरोवर यात्रा सञ्चालन गरेको विषयमा नेपालले कूटनीतिक नोट पठाइसकेको र भारतबाट त्यसको जवाफ प्राप्त भएको जानकारी दिए।

परराष्ट्रमन्त्री खनालले सीमांकन हुन बाँकी क्षेत्रबाहेक दशगजा क्षेत्रमा अतिक्रमणका समस्या रहेको स्वीकार गर्दै सीमा विवादलाई कूटनीतिक वार्तामार्फत समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए। प्रधानमन्त्रीको अभिव्यक्ति सीमापार अतिक्रमणसँग सम्बन्धित सन्दर्भमा आएको भन्दै उनले त्यसको बचाउसमेत गरे।

उनले नेपाल–भारत सीमा समस्याको समाधानका लागि तेस्रो मुलुकको संलग्नता खोजिएको नभई आवश्यक प्रमाण संकलनका क्रममा अन्य देशहरूसँग संवाद गरिएको सन्दर्भ प्रधानमन्त्रीले उल्लेख गरेको स्पष्ट पारे।

तर परराष्ट्रमन्त्रीको स्पष्टीकरणपछि पनि कांग्रेस नेता आङ्देम्बे सन्तुष्ट देखिएनन्। उनले सरकारले जस्तोसुकै तर्क प्रस्तुत गरे पनि प्रधानमन्त्रीको मूल अभिव्यक्ति राष्ट्रहित अनुकूल नरहेको र त्यसलाई स्वीकार गर्न नसकिने दोहोर्‍याए। आफ्नो भनाइलाई थप स्पष्ट पार्न उनले संसदमा गोपाल योञ्जनको राष्ट्रवादी गीत स्मरण गर्दै राष्ट्रिय स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिने सन्देश दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *