मंगल ग्रहमा ‘निर्माण ब्लक’ फेला
एजेन्सी । नासाको क्युरियोसिटी रोभरले मंगल ग्रहमा गरेको पछिल्लो अध्ययनले रातो ग्रहमा जैविक अणुहरूको अहिलेसम्मकै सबैभन्दा विविध समूह फेला पारेको छ।
सन् २०२० मा ‘मेरी एन्निङ-३’ नाम दिइएको स्थानबाट ड्रिल गरेर सङ्कलन गरिएको चट्टान नमूनाको वर्षौँसम्म गरिएको विश्लेषणपछि २१ वटा कार्बनयुक्त अणु पहिचान गरिएको नासाले जनाएको छ। तीमध्ये ७ वटा अणु मंगल ग्रहमा पहिलो पटक फेला परेका हुन्।
वैज्ञानिकहरूका अनुसार यी जैविक अणुहरू जीवित वा भूगर्भीय प्रक्रियाबाट बनेका हुन सक्ने सम्भावना दुवै खुला छ, तर यसको खोजले प्राचीन मंगल ग्रहमा जीवनका लागि आवश्यक रसायन उपलब्ध रहेको संकेत बलियो बनाएको छ।
‘नेचर कम्युनिकेसन्स’ जर्नलमा प्रकाशित अध्ययनमा अनुसन्धानकर्ताहरूले अणुहरू लाखौँ वर्षको विकिरणका बाबजुद चट्टानमा सुरक्षित रहन सकेको उल्लेख गरेका छन्।
फेला परेका अणुहरूमा नाइट्रोजन युक्त हेटेरोसाइकल संरचना पनि समावेश छ। जसलाई आरएनए र डीएनए जस्ता आनुवंशिक संरचनाका प्रारम्भिक पूर्वरूप मानिन्छ। यसलाई निकै महत्वपूर्ण खोज मानिएको छ। यस्तो संरचना मंगल ग्रहको सतहमा वा उल्कापिण्डहरूमा यसअघि कहिल्यै भेटिएको थिएन।
त्यस्तै, बेन्जोथायोफिन नामक अर्को कार्बन र सल्फरयुक्त अणु पनि पत्ता लागेको छ। जुन पृथ्वीमा पाइने केही उल्कापिण्डहरूमा समेत भेटिन्छ। वैज्ञानिकहरूले यस्ता पदार्थहरूले प्रारम्भिक सौर्यमण्डलमा जीवनको आधार बन्न सक्ने रासायनिक प्रक्रिया फैलाउन भूमिका खेलेको हुन सक्ने अनुमान गरेका छन्।
नासाका अनुसार यो खोजले मंगल ग्रहको प्राचीन भू-परिवेश पानीले भरिएको र जीवनका लागि उपयुक्त अवस्थाहरू रहेको धारणा थप मजबुत बनाएको छ।
क्युरियोसिटी रोभरमा रहेको ‘साम’ नामक मिनी ल्याब प्रयोग गरेर चट्टानको रासायनिक संरचना विश्लेषण गरिएको हो। वैज्ञानिकहरूले यसलाई भविष्यका मंगल तथा अन्य ग्रह अन्वेषणका लागि महत्वपूर्ण कदमका रूपमा लिएका छन्।
