के बालेन्द्रसँग समवेदना छैन ?(भिडियो)
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह पछिल्ला ठूला मानवीय विपत् र नागरिक पीडाप्रति निरिह र असंवेदनशील देखिएका छन्। सयौँ मानिसको ज्यान जाँदा, हजारौँ नागरिक घरबारविहीन हुँदा समेत उनको मुखबाट करुणाका कुनै शब्द ननिस्किनु आलोचनाको विषय बनेको छ।
रोल्पा जीप दुर्घटनामा २० जनाको मृत्यु हुँदा देशका अभिभावकका रूपमा रहेका बालेन्द्रले समवेदना प्रकट गर्ने फुर्सदसमेत पाएनन् । उक्त विषयमा राज्य नै मौन बस्यो। बरु राहत र उद्धारका लागि स्थानीयहरूले माग गरेको सहयोगमा सरकारले वास्ता नै गरेन। उद्दारको कार्यमा अप्ठेरो हुँदा हेलिकप्टरका लागि प्रधानमन्त्रीको सचिवालयलाई फोन गर्दा बरु पटक पटक फोन काटिएको स्थानियहरुको आरोप छ।
सुकुम्बासी बस्ती विस्थापनका क्रममा पनि प्रधानमन्त्री बालेन निकै निरिह र बेपर्वा देखिए । बुढाबुढीदेखि बालबालिकासम्मको कारुणिक अवस्था सार्वजनिक भइरहँदा उनको डोजरले निरन्तर घर भत्काइरह्यो।
सरकारले घरबारविहीन बनाइदिएकै कारण दुई सुकुम्बासीले आत्महत्या गरे। त्यो घटनामा पनि सरकार पूर्ण मौन रह्यो। बरु एकतर्फी रूपमा नागरिकलाई खेद्नतर्फ मात्र केन्द्रीत भएको स्थानीयहरूको आरोप छ।
जेन जी आन्दोलनताका बालेनको प्रभाव र लोकप्रियता छुट्टै स्तरमा थियो। त्यतिबेला उनी पर्दा पछाडिबाट भए पनि बाह्य दुनियाँमा ‘हट केक’ जस्तै चर्चित थिए। तर भदौ २३ र २४ का घटनामा ७६ जनाले ज्यान गुमाउँदा भएका श्रद्धाञ्जली कार्यक्रमहरूमा समेत बालेनले एक शब्द बोलेनन्। त्यही आन्दोलनको जगमा प्रधानमन्त्री बनेका उनले अहिले नागरिकहरुको विचल्ली त बनाइरहेका नै छन्, अर्कोतिर आफैं त्यसको रमिते पनि बनेका छन्।
विगतका अन्य ठूला मानवीय घटनामा पनि प्रधानमन्त्री बालेनले प्रतिक्रिया नजनाउँदा उनी जनताको दुःख पीडाप्रति बेपर्वाह र उदासीन देखिने गरेको टिप्पणी व्यापक छ।
