‘अन्तिम भोज’
अन्धकार, निर्जन, डरलाग्दो एकलासे जंगलबाट पार गर्दागर्दै अकस्मात् म यस्तो ठाउँमा पुगेँ, जहाँ उज्यालो नै उज्यालो थियो ।
म आनन्दले एकदम प्रफुल्लित भएँ । अघि भर्खरका दुःखकष्टहरू सबै बिर्सेर म दुगुर्दै, हुत्तिँदै त्यस ठाउँमा पुगेँ, जहाँ मनुष्यको न्यानो माया मलाई पर्खिरहेको थियो । मैले मनुष्यको अनुहार नदेखेको धेरै दिन भइसकेको थियो । त्यसैले म व्यग्र थिएँ ।
त्यो ठाउँ अत्यन्त रमणीय थियो । एउटा ठूलो भोज त्यहाँ भइरहेको रहेछ । जताततै रङ्गीचङ्गी निला, रातो, पहेँला, हरिया र सेता बत्तीहरू बलिरहेका रहेछन् ।
ठूलो चौरका चारैतिर कलापूर्ण बगैँचा उज्यालोमा जग्मगाइरहेको थियो । विभिन्न प्रकारका रङ्गीबिरङ्गी फूलहरू सुगन्ध छरेर बिउँझिरहेका थिए । त्यसभन्दा पनि बढी विभिन्न रङका पोसाकमा लोग्नेमानिस र स्वास्नीमानिसहरूको ठूला जमात त्यस ठाउँमा जम्मा भएर यताउति गरिरहेका थिए । ती सुगन्धित फूलहरूभन्दा पनि ती अति आकर्षक थिए । मलाई यस्तो लाग्थ्यो,स्वर्गको एक टुक्रा त्यस ठाउँमा खसेको हो । म विमोहित भएर नजिकै गएँ ।
हरियो कोमल दुबो भरिएको फाँटमा श्रेणीबद्ध रूपमा टेबल-कुर्सीहरू लगाइएका थिए र हरेक टेबलको मध्यभागमा फूलदानमा फूलहरू मुस्काइरहेका थिए । प्रत्येक टेबलमा एक-दुई जना सेता पोसाक लगाएका केटाहरू खानेकुराहरू किस्तीमा बोकेर उभिएका थिए, कोही यताउति किस्ती बोकेर घुमिरहेका थिए । मलाई अत्यन्त भोक लागेको थियो ।
त्यसैले भोज भन्ने थाहा पाउनासाथ लाजै पचाएर म त्यसभित्र पसेँ । नजिकै पुगेपछि मैले चाल पाएँ, ती व्यक्तिहरूका लवाइ, बोलाइ र रूपरङ एकै प्रकारका रहेनछन् । कोही अमेरिकाली जस्तो लाग्यो, कोही रुसी जस्तो, कोही जर्मनेली, कोही चिनियाँ, कोही भारतीय, कोही अफ्रिकी, कोही इजिप्टवासी, इरानी, कोही बेलायती जस्तो ।
सारा संसारभरिका जातिहरू सङ्ग्रहालयमा सिँगारिएर थपक्क राखेझैँ ती मानिसहरू थिए । मैले उनीहरूलाई सर्सर्ती हेरेँ र खुसीले आफू दङ्ग हुँदै उनीहरूका माझमा पुगेँ । विश्वका सम्पूर्ण राष्ट्रका मानिसहरू जमघट भएको ठाउँमा पुग्नु मात्र म जस्ताका लागि ठूलो गर्व थियो । त्यसैले निम्तो आफूसँग नभएकामा मैले सङ्कोच पनि मानिनँ र म त्यसै पसिदिएँ ।
तैपनि पाहुनाहरूको हुलमा मिसिन मलाई अप्ठ्यारो लाग्दै थियो । एउटी अत्यन्त राम्री आइमाईले मलाई हात समाएर अरूसँग तान्दै अङ्ग्रेजी भाषामा भनी, ‘लौ, एक नवागन्तुक आइपुग्यो, नयाँ देशबाट।’ अनि मलाई सोधी, ‘कुन देशका हौ ?’
मैले भनेँ, ‘नेपाल !’
उसले मलाई टेबल-टेबलमा लगेर विभिन्न भाषाहरूमा बोल्दै चिनाई । मैले सबैसँग हात मिलाएर अभिवादन गरेँ । त्यहाँ नभन्दै संसारभरिका विशिष्ट र प्रसिद्ध मानिसहरू जम्मा भएका रहेछन्,ठूला-ठूला नेता, राष्ट्रपति, प्रधानमन्त्री, कवि, लेखक, गायक, नर्तकी, कुलपति, वैज्ञानिक, प्राध्यापक, उद्योगपति, प्रबन्धक आदि ।
उनीहरूका माझमा मलाई आफू अत्यन्त होचो र सानो जस्तो अनुभव भयो, तैपनि ठाडो भएर उभिइरहेँ । उसले मलाई जता-जता तान्दै लगी, त्यतै-त्यतै म लाग्दै रहेँ ।
आखिर तीन–चार जना मात्र भएको टेबलमा उभ्याएर उसले मलाई भनी, ‘यही टेबलमा बसेर आजको अन्तिम भोज मनाऔँ, हुन्न ?’
‘आज यो विश्वमै अन्तिम भोज हो । यस्तो भोज यो पृथ्वीमा कहिल्यै हुन पाउनेछैन । यो रातपछि पृथ्वीमा कहिल्यै रात पर्दैन ।’
‘लौ, लेऊ यो ब्रान्डीको गिलास ।’
गिलास हातमा लिँदै आफ्नो आत्मीयझैँ सम्झेर मैले ऊसँग लाज नमानी सोधेँ, ‘आज साँच्ची यो केको भोज हो ? भन्नुहोस् ।’
आश्चर्य मान्दै उसले मतिर विस्फारित लोचनले हेरेर अरूसँग हाँस्दै भनी, ‘हेर, यो कस्तो अनौठो मानिस ! आज केको भोज भनेर पो सोध्छ !’
मतिर हेरेर नपत्याएझैँ गरी फेरि उसले सोधी, ‘साँच्ची, आज केको भोज हो तिमीलाई थाहा छैन ?’
मैले लजाएर उत्तर दिएँ, ‘म त घुम्दै आएको, यहाँ आइपुगेँ । मलाई अत्यन्त भोक लागेकाले यहाँ पसेको । मसँग निम्तो पनि छैन । के गरूँ, म जाऊँ कि ?’
म लाजले मरेतुल्य भएको थिएँ । म चोर पक्डापरी परेझैँ भएको थिएँ ।
उसले हतारिएर झटपट भनी, ‘होइन, होइन, बस । तिमीलाई थाहा रहेनछ त के भयो ? बरु सुन, म तिमीलाई बताउँछु—आज यो विश्वमै अन्तिम भोज हो । यस्तो भोज यो पृथ्वीमा कहिल्यै हुन पाउनेछैन । यो रातपछि पृथ्वीमा कहिल्यै रात पर्दैन । थाहा पायौ ?’
मैले थाहा पाएझैँ टाउको हल्लाएँ । मेरो मगजमा निम्तो कार्ड मात्र घुमिरहेको थियो । निम्तो कार्ड भएको भए मलाई यसरी लज्जित हुनुपर्ने नै थिएन ।
तर ऊ उल्लसित हुँदै भन्दै गई, ‘यो पृथ्वीमा कहिल्यै रात पर्दैन । यही अन्तिम रात हो । यहाँ संसारका सम्पूर्ण राष्ट्रका उच्च पदाधिकारीदेखि लिएर महान् व्यक्तिहरू सबै जना एउटा उद्देश्यले, एउटा अभिलाषाले जम्मा भएका छन् ।
यस्तो एकमत अहिलेसम्म विश्वका राष्ट्रहरूमा कहिल्यै देखिएको थिएन । यो एउटा अनुपम घटना हो । यो अनुपम घटना यस पृथ्वीमा फेरि कहिल्यै दोहोरिने पनि छैन ।
सुन, झिसमिसे बिहान हुन नपाउँदै यहाँका ठूला-ठूला राष्ट्रका राष्ट्रपति र प्रधानमन्त्रीहरूले आफ्ना देशमा कस्ता परमादेश पठाउनेछन् भने उनीहरूका देशमा रहेका सम्पूर्ण आणविक अस्त्रहरू तथा ठूला-ठूला अणुबमहरू एकैचोटि, एकै समयमा विस्फोट गरिनेछन् र पृथ्वीलाई टुक्राटुक्रा पारेर ब्रह्माण्डमा हुर्याइनेछ । पृथ्वीको अन्त्य गरिनेछ ।
मनुष्यको पृथ्वीमाथि ठूलो विजय हुनेछ । त्यसैले आजको एकमात्र अन्तिम रातमा यसरी यो प्रीतिभोज मनाइँदै छ । आज तिमी हामी पनि मनुष्यको यस महान् विजयमा विजयोत्सव मनाऔँ !’
उसले रक्सीको गिलास गर्वपूर्वक ओठसम्म उठाई । अरूहरूले पनि गम्भीरतापूर्वक त्यसै गरे ।
तर मैले गिलास उठाउन सकिनँ । कसरी म पृथ्वीको अन्त्यमा विजयोत्सव मनाउन सक्छु ?
आखिर गिलास त्यसै मिल्काएर म त्यहाँबाट भाग्न थालेँ । भोलि बिहान सूर्योदय नहुँदै पृथ्वीको सर्वनाश हुनेछ-म यसै कुराले लखेटिँदै भोकै भाग्दै छु, दुगुर्दै छु ।
मेरो प्यारो पृथ्वी, मेरो प्यारो धर्ती भोलि रहने छैन ! उफ् ! भोलि रहने छैन !
मेरो माटो सुँघेर म भाग्दै छु ।
