रमेश प्रसाईंको प्रश्न : तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध मुद्दा दायर गर्न के ले रोकेको छ ?
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले प्रतिनिधिसभामा सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
मंगलबार बसेको बैठकमा बोल्दै उनले सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्ने विषय केवल औपचारिकतामा सीमित नभई सरकारको व्यवहारबाट पुष्टि हुनुपर्ने बताए।
सांसद प्रसाईंले ‘जेनजी आन्दोलन’सँग सम्बन्धित घटनामा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध मुद्दा दायर प्रक्रिया अघि नबढ्नुको कारणबारे सरकारलाई प्रश्न गरे। उनले प्रमाण नपुगेको हो कि प्राथमिकता नदिइएको हो भन्ने स्पष्ट हुनुपर्ने माग गरे।
उनले विगतका विभिन्न आयोगका प्रतिवेदनहरू कार्यान्वयन नभएकोप्रति पनि आपत्ति जनाउँदै मल्लिक आयोग, रायमाझी आयोग र लाल आयोगका प्रतिवेदनहरू लामो समयदेखि थन्क्याइएका कारण सहिदहरूमाथि अन्याय भइरहेको टिप्पणी गरे।
प्रसाईंले राज्यका निर्णय र कार्यान्वयन प्रक्रिया परिवर्तन नभए पुरानै प्रवृत्ति दोहोरिने खतरा रहने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
