‘सांसदलाई स्वकीय सचिव आवश्यक’ : रास्वपा सांसद आचार्य
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरूलाई स्वकीय सचिवको सुविधा आवश्यक रहेको बताएको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै रास्वपाका सहमहामन्त्री तथा सांसद विपिनकुमार आचार्यले सांसदहरूको क्षमता अभिवृद्धिका लागि स्वकीय सचिवको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘सांसदहरूलाई सक्षम बनाउन, सांसदहरूको वृत्ति विकास र क्षमता अभिवृद्धिमा लगानी गर्ने विषय नीति तथा कार्यक्रममा समेटियोस् । पहिलो लगानी सांसदहरूलाई स्वकीय सचिवको सुविधा प्रदान गरेर गरियोस् ।’
यसअघि सांसदहरूले स्वकीय सचिव सुविधा पाउँदै आएका थिए । तर तत्कालीन सरकारले खर्च कटौती तथा मितव्ययिताको नीति अन्तर्गत उक्त सुविधा खारेज गरेको थियो ।
संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची संशोधन गर्दै सरकारले सांसदहरूको स्वकीय सचिव पद हटाएको थियो ।
त्यसबेला संसद्का पदाधिकारीहरूले निर्णयप्रति असन्तुष्टि जनाएका थिए ।
पछि संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले स्वकीय सचिव पद पुनः ब्युँताउने प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गरे पनि अहिलेसम्म निर्णय हुन सकेको छैन ।
