राष्ट्रिय युवा संघको ३७औँ स्थापना दिवसमा ‘१० के एनवाईएफएन रन’ सम्पन्न (तस्वीरहरू)
काठमाडौं। राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३७औँ स्थापना दिवसको अवसरमा ‘१० के एनवाईएफएन रन’ आयोजना गरेको छ। जेठ १ गते शुक्रबार काठमाडौंमा आयोजित उक्त दौड ‘स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ सम्पन्न भएको हो।
युवाहरूलाई खेलकुद, अनुशासन, स्वास्थ्य, सकारात्मक सोच तथा सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यसहित आयोजना गरिएको उक्त १० किलोमिटर दौड राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महाराज गुरुङले जानकारी दिए।
नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा सम्पन्न उक्त रन बिहान साढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको थियो। कोटेश्वर क्षेत्रको फन्को लगाउँदै पुनः दशरथ रंगशालामै पुगेर दौड सम्पन्न भएको हो।
नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले दौडको उद्घाटन गरेका थिए। प्रतियोगितामा शीर्ष पाँच स्थान प्राप्त गर्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा राजन रोकाया प्रथम (२९:५६.९), खड्क बहादुर खड्का दोस्रो (३०:२६.७), मुकेश बहादुर पाल तेस्रो (३१:००.२), संजय श्रेष्ठ चौथो (३१:०७.४) र सुशील शाही पाँचौं (३२:०७.६) स्थानमा रहे।



















