`

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक, अधिकांश नीतिगत व्यवस्था यथावत

Nepal One HD १ जेठ २०८३ २०:४१
अर्थ समाचार

काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अधिकांश नीतिगत व्यवस्थालाई यथावत राखेको जनाएको छ ।

बैंकले विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति लक्ष्यअनुरूप रहने प्रक्षेपण तथा न्यून आर्थिक वृद्धिको अवस्थालाई दृष्टिगत गर्दै आर्थिक वर्षको सुरुदेखि अवलम्बन गरिएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको जनाएको हो ।

समीक्षाअनुसार ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात (सीआरआर) तथा वैधानिक तरलता अनुपात (एसएलआर) सम्बन्धी विद्यमान व्यवस्थाहरू यथावत कायम गरिएको छ । यद्यपि ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइने स्थायी निक्षेप सुविधासम्बन्धी व्यवस्था पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमानअनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव ८५ प्रतिशत रहने अपेक्षा गरिएको छ । प्रतिकूल मौसम तथा प्राकृतिक प्रकोपका कारण कृषि क्षेत्रको वृद्धिदर एक दशमलव ५८ प्रतिशतमा सीमित भए पनि उद्योग क्षेत्रको वृद्धिदर पाँच दशमलव ६७ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर चार दशमलव २१ प्रतिशत रहने अनुमान गरिएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षमा कूल गार्हस्थ उत्पादनमा लगानीको हिस्सा बढेको छ । थोक तथा खुद्रा व्यापार, आन्तरिक तथा बाह्य पर्यटन, जलविद्युत्, वित्तीय तथा बिमा, यातायात तथा भण्डारण र सूचना प्रविधि क्षेत्रको विस्तारसँगै समष्टिगत मागमा क्रमिक सुधार आउने अपेक्षा गरिएको छ ।

समीक्षामा सरकारले शासकीय, आर्थिक तथा कानुनी सुधारलाई प्राथमिकतामा राखेकाले मौद्रिक नीतिको विद्यमान कार्यदिशाको निरन्तरताबाट लगानी अभिवृद्धि भई आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने उल्लेख गरिएको छ । राष्ट्र बैंकले मुद्रास्फीति लक्ष्यभन्दा न्यून रहे पनि विश्वव्यापी भूराजनीतिक तनावका कारण मूल्यवृद्धिमा दबाब पर्ने जोखिम रहेको जनाएको छ । पश्चिम एसियामा जारी युद्धका कारण पेट्रोलियम पदार्थ, उद्योगका लागि आवश्यक कच्चापदार्थ तथा केही उपभोग्य वस्तुको आपूर्ति शृङ्खला प्रभावित भएको उल्लेख गर्दै फागुन १६ देखि वैशाख मसान्तसम्म पेट्रोलको मूल्य ३५ प्रतिशत र डिजेलको मूल्य ५८ प्रतिशतले बढेको जनाएको छ ।

यद्यपि चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म औसत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ३९ प्रतिशत रहेको र वार्षिक औसत मुद्रास्फीति लक्षित सीमाभित्र रहने प्रक्षेपण गरिएको छ । बाह्य क्षेत्रतर्फ विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएकाले चालु खाता, शोधनान्तर स्थिति तथा विदेशी मुद्रा सञ्चिति बढ्दो क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ । तर नेपालमा करिब ४० प्रतिशत विप्रेषण पश्चिम एसियाबाट आउने भएकाले उक्त क्षेत्रमा जारी तनावले विप्रेषण आप्रवाह, व्यापार घाटा र विदेशी विनिमय सञ्चितिमा दबाब पार्न सक्ने जोखिम औँल्याइएको छ ।

समीक्षाअनुसार बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा केही बढे पनि आर्थिक गतिविधिमा सुधारसँगै त्यस्तो कर्जामा सुधार आउने अपेक्षा गरिएको छ । २०८२ चैत मसान्तसम्म प्राथमिक पुँजी तथा पुँजीकोषको जोखिम भारित सम्पत्तिसँगको अनुपात नियामकीय मापदण्डभित्र रहेको उल्लेख गर्दै समग्र वित्तीय स्थायित्व कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले विगत तीन वर्षदेखि वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था कायम रहेको उल्लेख गर्दै यस्तो अवस्थाले समष्टिगत आर्थिक परिसूचकमा पार्न सक्ने प्रभाव व्यवस्थापन गर्न आवश्यक कदम चाल्न बैंक सजग रहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *