`

बालेन शाह सर्वसत्तावादी हुन खोजेको सुशील प्याकुरेलको आरोप

Nepal One HD २ जेठ २०८३ १४:०७
प्रमुख खबर

काठमाडौं । मानवअधिकारकर्मी सुशील प्याकुरेल ले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको कार्यशैलीप्रति प्रश्न उठाउँदै उनी सर्वसत्तावादी प्रवृत्तितर्फ उन्मुख भइरहेको आरोप लगाएका छन्।

‘नागरिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षाको चुनौती’ विषयक छलफल कार्यक्रममा बोल्दै प्याकुरेलले प्रधानमन्त्रीले राष्ट्रपतिको मर्यादा नराखेको, संसदमा पर्याप्त रूपमा नबोलेको तथा जनतालाई सम्बोधन नगरेको विषय उल्लेख गरे।

उनले प्रधानमन्त्रीको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने अभ्यासमाथि पनि प्रश्न उठाए। ‘प्रधानमन्त्रीको नीति तथा कार्यक्रम राष्ट्रपतिले किन पढ्ने ? त्यसो भए व्यावहारिक सिद्धान्त हुँदैन,’ उनले भने।

प्याकुरेलले प्रधानमन्त्री पद केवल कार्यकारी जिम्मेवारीमा सीमित नभई सामाजिक उत्तरदायित्व बोकेको पदसमेत भएको बताए। ‘प्रधानमन्त्री भन्ने पद कार्यकारी मात्रै होइन, सामाजिक मान्छे पनि हो। जनतासँग बोल्नु पनि प्रधानमन्त्रीको दायित्व हो,’ उनले टिप्पणी गरे।

उनले वर्तमान राजनीतिक अवस्थाबारे बोल्दै प्रतिपक्ष कमजोर रहेको भनिए पनि लोकतन्त्रमा सानो प्रतिपक्षको भूमिका पनि महत्त्वपूर्ण हुने बताए। ‘अहिले प्रतिपक्ष सानो छ भनिन्छ, पञ्चायतमा पनि पाँच जना थिए,’ उनले स्मरण गरे।

यसैक्रममा उनले एमालेभित्र नेतृत्वविरुद्ध बोल्न नसक्ने संस्कृतिका कारण पार्टी कमजोर बन्दै गएको दाबी गरे। ‘एमाले ओलीका विरुद्ध बोल्न डराएर बिग्रेको हो,’ उनले भने।

कार्यक्रममा वक्ताहरूले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता तथा सत्ता र नागरिकबीचको सम्बन्धबारे धारणा राखेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *