‘ककरोच जनता पार्टी’ ‘भाजपा’लाई पछि पार्दै
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘ककरोच जनता पार्टी’ नामक अकाउन्ट तीव्र गतिमा भाइरल भएको छ । पाँच दिनभन्दा कम अवधिमै यस अकाउन्टलाई १ करोड ५० लाखभन्दा बढी प्रयोगकर्ताले फलो गरेका छन् ।
यससँगै उक्त अकाउन्टले भारतका दुई ठूला राजनीतिक दल भारतीय जनता पार्टी (भाजपा) र भारतीय राष्ट्रिय कांग्रेसका आधिकारिक इन्स्टाग्राम ह्यान्डललाई समेत पछाडि पारिदिएको बताइएको छ ।
यसैबीच, ‘ककरोच जनता पार्टी’ को एक्स (पूर्व ट्विटर) अकाउन्ट भने भारतमा ब्लक गरिएको छ । संस्थापकले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै आफ्नो अकाउन्ट भारतमा ‘विथहेल्ड’ (प्रतिबन्धित) गरिएको स्क्रिनसटसहित जानकारी दिएका हुन् ।
उनका अनुसार अकाउन्ट सुरुमा ह्याक गर्ने प्रयास गरिएको थियो र अहिले कुनै स्पष्ट कारणबिना नै प्रतिबन्ध लगाइएको छ । यद्यपि, उक्त अकाउन्ट अन्य देशहरूमा भने अझै सञ्चालनमा रहेको बताइएको छ ।
सुरुमा मिम प्लेटफर्मको रूपमा सुरु भएको यो अकाउन्ट छोटो समयमै युवामाझ लोकप्रिय बनेको छ । यसका पोस्टहरूमा राजनीतिक व्यङ्ग्य, प्रशासनिक प्रणालीमाथिको कटाक्ष तथा भाइरल मिम सामग्रीहरू समावेश छन् ।
सामाजिक सञ्जाल विशेषज्ञहरूका अनुसार यसको तीव्र लोकप्रियताको पछाडि इन्स्टाग्राम एल्गोरिदम, समयअनुकूल कन्टेन्ट र आकर्षक प्रस्तुतीकरणको महत्वपूर्ण भूमिका रहेको छ ।
