‘रवि’ किन जाँदैछन् ‘भारत’ ?
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा जाने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी जेठ १८ गते भारत प्रस्थान गर्ने तयारीमा छन् । दुई दिने भ्रमणका क्रममा उनले भारतका उच्च राजनीतिक तथा कूटनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।
भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, विदेश सचिव विक्रम मिस्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट हुने सम्भावना रहेको स्रोतको भनाइ छ ।
त्यसैगरी भारतीय जनता पार्टी (भाजपा) का पदाधिकारीहरूसँग पनि भेटघाट हुने कार्यक्रम रहेको उल्लेख गरिएको छ ।
भाजपा निकट स्रोतका अनुसार सत्तारुढ दलका नेताको हैसियतमा लामिछानेलाई औपचारिक भ्रमणका लागि निमन्त्रणा गरिएको हो । यसअघि पनि भारतले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई यस्तै औपचारिक भ्रमण गराएको उदाहरण रहेको बताइन्छ ।
यद्यपि, यस विषयमा सम्बन्धित निकायबाट औपचारिक पुष्टि भने सार्वजनिक गरिएको छैन ।
