रास्वपाको पहिलो महाधिवेशन : आन्तरिक रस्साकस्सी र दौडधूप
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असारमा गर्ने पहिलो महाधिवेशनमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरेको छ।
पार्टीभित्र शीर्ष पददेखि तल्लो तहसम्मको नेतृत्व संरचना र जिम्मेवारी बाँडफाँटलाई लिएर आन्तरिक छलफल तीव्र बनेको छ।
पार्टी स्रोतका अनुसार सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन), उपसभापतिमा स्वर्णिम वाग्ले र महामन्त्रीमा भूपदेव शाहलाई दोहोर्याउने विषयमा प्रारम्भिक सहमति जस्तो अवस्था बनेको नेताहरूले बताएका छन्। यद्यपि यो अन्तिम निर्णय भने महाधिवेशनले गर्नेछ।
पार्टीमा दुई उपसभापति पद रहने व्यवस्था छ। ती पदका लागि नेताहरूबीच आन्तरिक लबिइङ सुरु भएको छ।
उपसभापतिका लागि इन्दिरा राना मगर, प्रतिभा रावल र कोषाध्यक्ष लीमा अधिकारीको नाम चर्चामा रहेको नेताहरू बताउँछन्। लीमा अधिकारीले हालको पद छोडेर उपसभापति बन्ने इच्छा निकटवर्तीहरूलाई बताएको स्रोतको दाबी छ।
त्यस्तै, चुनावी एकता प्रक्रियामा जोडिएका विवेकशील साझा समूह र बालेन्द्र शाह निकट समूहबाट पनि एक-एक प्रतिनिधिलाई उपसभापति बनाउने सम्भावना रहेको चर्चा छ।
हाल पार्टीमा दुई महामन्त्री रहेका छन्,कबिन्द्र बुर्लाकोटी र भूपदेव शाह। बुर्लाकोटीलाई उपसभापतिमा बढुवा गर्ने वा हालकै जिम्मेवारीमा राख्ने विषय टुंगिन बाँकी छ।
यदि बुर्लाकोटी उपसभापति बनेमा रिक्त हुने महामन्त्री पदका लागि मनिष झा, दीपक बोहरा, सोविता गौतम र विपिन आचार्यको नाम दाबेदारका रूपमा अघि आएको छ।
सहमहामन्त्रीतर्फ हाल विपिन आचार्य मात्र रहेको र थप तीन पद खाली रहेकोले ती पदमा नयाँ अनुहार ल्याउने तयारी भइरहेको नेताहरूले बताएका छन्।
रास्वपाले ९९ देखि १५१ सदस्यीय केन्द्रीय समिति बनाउने तयारी गरेको छ। तर, पदाधिकारी चयनमा समावेशीता र क्षेत्रीय सन्तुलन प्रमुख चुनौतीका रूपमा देखिएको छ।
हाल केन्द्रीय समितिदेखि शीर्ष नेतृत्वसम्म बागमती प्रदेशको वर्चस्व रहेको भन्दै त्यसलाई सन्तुलनमा ल्याउनुपर्ने दबाब पार्टीभित्र बढेको छ।
एक पदाधिकारीका अनुसार, ‘अहिलेको संरचना पूर्ण रूपमा समावेशी छैन, क्लस्टर पनि मिलाइएको छैन। अब महाधिवेशनमार्फत सुधार गर्नुपर्ने अवस्था छ।’
पार्टीभित्र सांसद र मन्त्रीहरूले केन्द्रीय पदाधिकारी बन्ने कि प्रदेश र जिल्ला तहको नेतृत्व लिने भन्ने विषयमा पनि छलफल भइरहेको छ। केही सांसदहरू प्रदेश र जिल्ला संरचनामा सक्रिय हुने इच्छामा रहेको बताइएको छ।
त्यस्तै, सांसद र मन्त्री भएकाहरूलाई पार्टी संगठनमा दोहोरो जिम्मेवारी नदिनुपर्ने मत पनि बलियो बन्दै गएको छ।
पार्टी निकट नेताहरूका अनुसार प्रधानमन्त्री बालेनलाई औपचारिक पदमा बस्नेभन्दा पनि ‘वरिष्ठ नेता’ को भूमिकामा राख्ने सम्भावना रहेको छ। उनलाई संगठनात्मक पदभन्दा पनि मार्गदर्शक भूमिकामा सीमित गर्न सकिने चर्चा छ।
एक नेताले भने, ‘उहाँ पदको खास लोभ गर्ने व्यक्ति होइन, पार्टीमा औपचारिक भूमिका भए पनि प्रतीकात्मक हुन सक्छ।’
