`

कसरी बन्दी बने ‘४५३ नेपाली’ भारतको कुशीनगरमा ?

Nepal One HD १६ जेठ २०८३ १४:४५
फिचर

काठमाडौं। भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट बन्धक बनाएर राखिएका ४ सय ५३ जना नेपालीको उद्धार गरिएको छ।

उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले संयुक्त अपरेसनमार्फत उद्धार गरी नेपाल ल्याएको हो। उद्धार गरिएका सबैलाई अहिले जिल्ला प्रहरी कार्यालय भैरहवामा राखिएको छ।

लुम्बिनी प्रदेश प्रहरी र रूपन्देही प्रहरीको समन्वयमा गरिएको अपरेसनमार्फत शुक्रबार राति उद्धार कार्य सम्पन्न गरिएको र शनिबार नेपाल ल्याइएको प्रहरीले जनाएको छ। घटनालाई हालसम्मकै ठूलो मानव तस्करी तथा ठगीसँग जोडिएको आशंकाका रूपमा अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार नेपालका विभिन्न जिल्लाबाट युवायुवतीलाई आकर्षक रोजगारी, उच्च तलब तथा विदेशमा राम्रो अवसरको प्रलोभन देखाएर भारत पुर्‍याइएको थियो। प्रारम्भिक अनुसन्धानमा देखिएअनुसार उनीहरूलाई सीमावर्ती नाका सुनौली हुँदै कुशीनगर लगिएको जनाइएको छ ।

त्यसपछि उनीहरूलाई विभिन्न स्थानमा राखी आर्थिक असुली र नियन्त्रणमा राख्ने कार्य भएको पाइएको छ। केही पीडितबाट ७ हजार भारतीय रुपैयाँदेखि १ लाख रुपैयाँसम्म रकम असुल गरिएको प्रारम्भिक विवरणमा उल्लेख छ।

प्रहरी स्रोतका अनुसार यो घटनामा संगठित गिरोह संलग्न रहेको देखिएको छ। जसले नेपालभित्रैबाट मानिसहरूलाई भारत पुर्‍याउने, त्यहाँ नियन्त्रणमा राख्ने र पछि सदस्यता विस्तार तथा नेटवर्किङ व्यवसायको नाममा थप रकम असुल्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

रूपन्देही प्रहरी प्रमुख जनकबहादुर शाहीका अनुसार प्राप्त सूचनाका आधारमा लामो समयदेखि निगरानी गर्दै अपरेसन सञ्चालन गरिएको थियो। उनका अनुसार भारतीय प्रहरीसँगको समन्वय र उत्तर प्रदेश प्रशासनको सहयोगमा स्थल पहिचान गरी उद्धार सम्भव भएको हो।

प्रहरीले प्रारम्भिक बयानका आधारमा घटनालाई संगठित मानव तस्करी, ठगी र अवैध आर्थिक असुलीसँग सम्बन्धित जटिल संरचना भएको अनुमान गरेको छ।

गिरोहले युवायुवतीलाई सुरुमा ‘राम्रो काम’ को आश्वासन दिएर ल्याउने, त्यसपछि अलग-अलग समूहमा विभाजन गरेर नियन्त्रणमा राख्ने र आर्थिक दबाब सिर्जना गर्ने गरेको देखिएको छ।

कसैलाई तालिम दिने नाममा लामो समय राखिएको, कसैलाई सदस्यता विस्तारमा प्रयोग गरिएको तथा परिवारसँग सम्पर्क गर्न दिँदा धम्की र दबाब दिने कार्य समेत भएको प्रारम्भिक विवरणमा खुलेको छ।

नेपाल प्रहरीका अनुसार घटनामा संलग्न मुख्य गिरोहको पहिचान गर्ने काम जारी छ। सीमापार आपराधिक सञ्जालसँग जोडिएको हुन सक्ने भएकाले थप अनुसन्धानका लागि दुवै देशका सुरक्षा निकायबीच समन्वय बढाइएको छ।

उद्धारपछि सबै पीडितलाई सुरक्षित रूपमा नेपाल ल्याइएको र उनीहरूको स्वास्थ्य परीक्षण तथा प्रारम्भिक सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। केहीलाई परिवारसँग सम्पर्क गराइसकिएको छ भने बाँकीलाई क्रमशः जिम्मा लगाउने तयारी भइरहेको छ।

प्रहरीले घटनालाई गम्भीर अपराधका रूपमा लिँदै संलग्न व्यक्तिहरूको खोजी र पक्राउ प्रक्रिया अघि बढाउने जनाएको छ। साथै, यस्ता घटनाबाट बच्न युवायुवतीलाई विदेश तथा रोजगारीका प्रलोभनमा नपर्न पनि आग्रह गरिएको छ।

यस घटनाले सीमापार मानव तस्करी र अनौपचारिक नेटवर्किङ व्यवसायको नाममा हुने ठगीबारे थप सतर्कता आवश्यक रहेको देखाएको सुरक्षा निकायको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *