आलोचनाको राडरमा ‘बालेन’
काठमाडौं। प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले नेपाल-भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर विभिन्न राजनीतिक दलका नेताहरूले आपत्ति जनाएका छन्।
प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा ‘भारतले मात्र नभई नेपालले पनि भारतीय भूमि मिचेको’ भन्ने अभिव्यक्ति दिएपछि यसले कुटनीतिक र राजनीतिक प्रतिक्रिया तीव्र बनेको हो।
प्रधानमन्त्रीले सम्मानित सदनको रोष्टमा उभिएर उक्त अभिव्यक्ति दिनु कदापी सहि नभएको भन्दै उनकै समर्थकहरू उनिमाथि खनिन सुरु भएका छन्।
विपक्षी दल तथा विभिन्न राजनीतिक नेताहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘अपरिपक्व’ र ‘कूटनीतिक रूपमा संवेदनशील’ भन्दै आलोचना गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले भने भरसक बालेनको बचाउ गर्ने कोसिस गरिरहेका छन्। यद्यपि उनीहरुको कोसिस पनि नाकाम साबित भैरहेको छ।
बालेनका साइबरसेना भनेर चिनिने केहि मिडिया पनि यतिबेला मौन देखिएका छन्।
समग्र हेर्दा प्रधानमन्त्री बालेन चौतर्फी आलोचनाको गन पोइन्टमा छन् भन्दा फरक नपर्ला। यसैबीच,श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) ले उक्त अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ भन्दै आलोचना गरेका छन्।
उनले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइले नेपालको सीमा सम्बन्धी स्थापित अडानलाई कमजोर बनाएको आरोप लगाएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको भनाइले नेपालको सीमा मिचिएको कुरालाई रफादफा गर्ने, लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्नुपर्छ भन्ने नेपाली जनताको मागलाई सामसुम पार्ने तथा नेपालले धेरै ठाउँका भूमि भारतलाई छोडिदिनुपर्ने राष्ट्रघाती बदनियत प्रष्ट पारेको छ। प्रधानमन्त्रीले बोलेको यो कुराले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र स्थिति के हो भन्नेबारे गम्भीर अस्पष्टता व्यक्त गरेको छ।’
नेकपाका नेता झलनाथ खनालले पनि प्रधानमन्त्री शाहको अभिव्यक्तिको आलोचना गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले उक्त भनाइलाई ‘गम्भीर, दुःखद, गलत र राष्ट्रविरोधी’ बताएका छन्।
खनालले लेखेका छन्, ‘हिजो प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा बोल्दा नेपालले समेत भारतका जग्गा मिचेको खतरनाक अभिव्यक्ति दिन पुगे। यो अत्यन्त गम्भीर, दुःखद, गलत र राष्ट्रविरोधी अभिव्यक्ति हो।’
उनले थप लेखेका छन्, ‘हामी नेपाली जनता युगौँदेखि विदेशी अतिक्रमणका विरुद्ध संघर्ष गर्दै आएका छौँ र अहिले पनि हाम्रो देशमाथि अतिक्रमण भइरहेको छ। त्यस्ता कार्यलाई हलुका बनाउने र विदेशीहरूको चाकडी गर्ने हिसाबले यस्ता अभिव्यक्ति दिनु राष्ट्रविरोधी कार्य हो। उहाँले कुन तथ्य, कुन प्रमाण र कुन दस्तावेजका आधारमा यस्तो खतरनाक अभिव्यक्ति दिनुभएको हो ?’
उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले पनि प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै नेपालको राष्ट्रिय अडानलाई कमजोर बनाउने खालको अभिव्यक्ति संसदबाट आउनु गम्भीर विषय भएको बताएका छन्।
घिसिङले लेखेका छन्, ‘नेपालले विगतदेखि नै उपलब्ध ऐतिहासिक दस्तावेज, नक्सा, सन्धि तथा तथ्य–प्रमाणका आधारमा आफ्नो अडान स्पष्ट रूपमा राख्दै आएको छ। यस्तो अवस्थामा सार्वभौम राष्ट्रको प्रधानमन्त्रीले संसदजस्तो सर्वोच्च मञ्चबाट दिएको यस्तो अभिव्यक्तिले नेपालको राष्ट्रिय अडानलाई कमजोर बनाउँछ।’
उनले थप भनेका छन्, ‘रास्वपा सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा सोही पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनुले संशय र प्रश्नहरू जन्माएको छ।’
घिसिङले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिको आधार, सन्दर्भ र तथ्य देश र जनतासमक्ष स्पष्ट पार्नुपर्ने माग गरेका छन्।
यस्तै नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पनि प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले लेखेका छन्, ‘बालेन्द्र शाहले आज संसदमा दिएको अभिव्यक्तिले उनले नेपाल राष्ट्रको प्रतिनिधित्व गर्छन् कि अरू कसैको भन्ने गम्भीर प्रश्न खडा भएको छ।’
प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिलाई लिएर संसददेखि सामाजिक सञ्जालसम्म बहस जारी रहेको छ। भने विभिन्न राजनीतिक दलका नेताहरूले सरकारसँग थप स्पष्टीकरणको माग गरेका छन्।
यसैबीच रास्वपा सभापति रवि लामिछाने सोमबार भारत भ्रमण जानुले पनि नयाँ शक्तिका रुपमा उदाएको दल माथी आशंकाका तीर रोपिएको छ। औपचारिक भ्रमण भनेपनि रवि भ्रमण जाने अघिल्लो दिन प्रधानमन्त्री बालेनको उक्त अभिव्यक्तिलाई संयोग मात्र मान्न नसकिने विज्ञहरू बताउँछन्।
