लगातार दोस्रो दिन ओरालो लाग्यो सेयर बजार
काठमाडौं। बिहिवार १३ अंकले घटेको सेयर बजार शुक्रबार पनि ओरालो लाग्दै ११.३७ अंकले घटेको छ। कारोबार सुरु भएदेखि नै बजारले कुनै पनि चरणमा उकालो लिने संकेत देखाउन सकेन।
यस दिन ७४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८४ वटाको घट्यो भने ११ वटा कम्पनीको मूल्य स्थिर रह्यो। बजार घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ४ अर्ब ७० करोडको कारोबार भएकोमा शुक्रबार ५ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको हो।
फाइनान्स समूह सबैभन्दा धेरै २.७७ प्रतिशतले बढेको छ, जससँगै यसको सूचक चैत १५ यताकै उच्च बिन्दुमा पुगेको छ। होटल तथा पर्यटन समूह ०.०५ प्रतिशत र निर्जीवन बीमा समूह ०.०६ प्रतिशतले सामान्य वृद्धि भएका छन्।
तर बैंकिङ ०.४४, विकास बैंक ०.१६, जलविद्युत् ०.७४, लगानी ०.३७, जीवन बीमा ०.४४, उत्पादन तथा प्रशोधन ०.७८, माइक्रोफाइनान्स ०.१६, अन्य ०.७४ तथा व्यापार समूह ०.२३ प्रतिशतले घटे।
आज सबैभन्दा धेरै बढ्ने कम्पनीमा कालिन्चोक हाइड्रोपावर १५ प्रतिशतले अगाडि रह्यो। त्यस्तै उपकार लघुवित्त ९.७१ प्रतिशत, बेस्ट फाइनान्स ७.५५ प्रतिशत र सिटी होटल ७.०६ प्रतिशतले बढे।
त्यसैगरी होटल फरेस्ट इन ४.२२, माबिलुङ इनर्जी ४.१७, रिजलाइन इनर्जी ३.८३ र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक २.९९ प्रतिशतले घटे।
शुक्रवार सबैभन्दा बढी कारोबार हुने कम्पनीहरूमा आँखुखोला जलविद्युत्, सिटी होटल, सेन्ट्रल फाइनान्स, रिडी पावर, रिलायन्स स्पिनिङ मिल्स र बेस्ट फाइनान्स क्रमशः अगाडि रहेका छन्।
