`

मोबाइलबाटै आँखा जाँच 

Nepal One HD २२ जेठ २०८३ १६:३४
जीवनशैली/स्वास्थ्य

काठमाडौं। गुल्मीको रेसुङ्गा नगरपालिकामा अब प्राथमिक स्वास्थ्य संस्थामै मोबाइल प्रविधिको प्रयोग गरेर बिरामीको आँखा परीक्षण गर्न सकिने भएको छ।

नेपाल नेत्रज्योति संघको ‘पिकभिजन’ कार्यक्रमअन्तर्गत सुरु गरिएको यो सेवा लुम्बिनी प्रदेशमै पहिलो पटक कार्यान्वयनमा ल्याइएको हो।

नेपाल नेत्रज्योति संघ केन्द्रीय कार्यालयमार्फत सञ्चालनमा आएको यस कार्यक्रमको शुभारम्भ संघका कार्यवाहक अध्यक्ष श्यामकुमार पोखरेल तथा जिल्लास्थित नेतृत्वले गरेका छन्। 

कार्यक्रममार्फत स्वास्थ्य संस्थामा आउने बिरामीको प्रारम्भिक आँखा परीक्षण मोबाइल एप्लिकेसनमार्फत गरिनेछ भने थप उपचार आवश्यक देखिएमा उनीहरूलाई आँखा उपचार केन्द्रमा सहज रूपमा रिफर गर्न सकिने व्यवस्था गरिएको छ।

नेपाल नेत्रज्योति संघ गुल्मीका सचिव पदमप्रसाद पाण्डेका अनुसार यस प्रविधिले गाउँस्तरमै आँखा स्वास्थ्य सेवा विस्तार गर्न तथा बिरामीलाई समयमै उपचारको पहुँचमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कार्यक्रमअन्तर्गत रेसुङ्गा नगरपालिकाका १६ वटै स्वास्थ्य संस्थालाई विशेष सफ्टवेयर जडान गरिएको एक–एक थान स्मार्ट मोबाइल उपलब्ध गराइएको छ। ती मोबाइलमार्फत गरिएको परीक्षणको सम्पूर्ण विवरण जिल्ला आँखा उपचार केन्द्रको सर्भरमा स्वतः अभिलेख हुने व्यवस्था मिलाइएको छ।

नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्रका सूचना अधिकारी वीरबहादुर कार्कीका अनुसार स्वास्थ्य संस्थाबाट रिफर गरिएका बिरामी उपचार केन्द्रमा नपुग्दासम्म प्रणालीले नियमित रूपमा फलोअप सन्देश पठाउने व्यवस्था रहेको छ। यसले उपचारका लागि पठाइएका बिरामी छुट्ने सम्भावना न्यून हुने विश्वास गरिएको छ।

कार्यक्रम सञ्चालनअघि स्वास्थ्यकर्मीहरूलाई प्रविधि प्रयोगसम्बन्धी तालिमसमेत प्रदान गरिएको थियो। नेपाल नेत्रज्योति संघ केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक रञ्जन शाह, सूचना प्रविधि विशेषज्ञ शैलेन्द्र मानसिंह, जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रका प्रमुख सूर्यबहादुर बस्नेत तथा सूचना अधिकारी वीरबहादुर कार्कीले स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षण दिएका थिए।

यो कार्यक्रम बेलायतस्थित अन्तर्राष्ट्रिय संस्था पिक फाउन्डेसन र नेपाल नेत्रज्योति संघको सहकार्यमा सञ्चालन भइरहेको हो। सूचना अधिकारी कार्कीका अनुसार पिकभिजन कार्यक्रमका तीन फरक मोडलमध्ये रेसुङ्गामा ‘हेल्थ पोस्ट मोडल’ लागू गरिएको छ।

नेपाल नेत्रज्योति संघ गुल्मीले वार्षिक रूपमा ४० हजारभन्दा बढी बिरामीलाई आँखा उपचार सेवा प्रदान गर्दै आएको जनाएको छ। केन्द्रले प्रत्येक वर्ष करिब ५०० जनाको आँखा शल्यक्रिया, १० हजारभन्दा बढी विद्यार्थीको निःशुल्क आँखा परीक्षण तथा करिब ५०० जनालाई निःशुल्क चस्मा वितरण गर्दै आएको छ।

वि.सं. २०४९ मा स्थापना भएको नेपाल नेत्रज्योति संघ गुल्मीको सदरमुकाम तम्घासमा शल्यक्रिया केन्द्र रहेको छ भने जिल्लाका विभिन्न स्थानीय तहमा छ वटा आँखा उपचार केन्द्र सञ्चालनमा छन्।

संघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेका अनुसार यी सेवाका कारण गुल्मीसँगै छिमेकी जिल्लाका नागरिकले पनि सहज रूपमा आँखा उपचार तथा शल्यक्रिया सेवा प्राप्त गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *