`

कर्णालीमा एचआईभी संक्रमण घट्दो, ७७० जना उपचारमा

Nepal One HD २२ जेठ २०८३ १८:१४
जीवनशैली/स्वास्थ्य

सुर्खेत। कर्णाली प्रदेशमा एचआईभी संक्रमणको दर पछिल्ला वर्षहरूमा क्रमशः घट्दो क्रममा देखिएको छ।

स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ८० जनामा संक्रमण देखिएकोमा चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म यो संख्या घटेर ३१ मा सीमित भएको छ।

निर्देशनालयको तथ्यांकअनुसार २०७९/८० मा ५७ जना, २०८०/८१ मा ३८ जना र २०८१/८२ मा ३९ जनामा संक्रमण पुष्टि भएको थियो। हाल प्रदेशभरि ७७० जना एचआईभी संक्रमित विभिन्न एआरटी केन्द्रमार्फत नियमित उपचारमा रहेका छन्।

प्रदेश अस्पताल सुर्खेतसहित दैलेख, सल्यान, कालिकोट, रुकुम पश्चिम, राकम कर्णाली आधारभूत अस्पताल, सालकोट प्राथमिक स्वास्थ्य केन्द्र, मेहलकुना अस्पताल र दुल्लु अस्पतालमार्फत उपचार सेवा प्रदान भइरहेको छ। तीमध्ये सबैभन्दा बढी संक्रमित सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचाररत छन्।

पीएमटीसीटी कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा ३३ हजार ७४० गर्भवती महिलाको एचआईभी परीक्षण गरिएको छ, जसमा दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।

त्यस्तै पछिल्ला वर्षहरूमा एचआईभी संक्रमितको मृत्यु दर पनि घट्दै गएको देखिएको छ। तर परीक्षणको दायरा विस्तार, औषधि तथा किट आपूर्ति, सबै जोखिम समूहसम्म सेवा पहुँच र संक्रमितप्रति सामाजिक लाञ्छना जस्ता चुनौती अझै कायम रहेको सरोकारवालाले बताएका छन्।

सरकारले सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने लक्ष्यसहित ९५–९५–९५ रणनीति लागू गरिरहेको छ। विभिन्न संस्थाहरूले पनि सचेतना, परीक्षण, उपचार र परामर्श सेवामा सहयोग गर्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *