औषधि अभाव हटाउन मन्त्री मेहताको निर्देशन
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बजारमा देखिएको अत्यावश्यक औषधिको अभाव तत्काल हटाउन र नियमित आपूर्ति नगर्ने कम्पनीमाथि कडा नियमन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् ।
शुक्रबार औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको स्थलगत निरीक्षण गर्दै मन्त्री मेहताले दुवै निकायको सेवा प्रवाह, कार्यसम्पादन र विद्यमान समस्याबारे जानकारी लिँदै उच्च अधिकारीहरूसँग विस्तृत छलफल गरेकी हुन् ।
छलफलका क्रममा उनले औषधि आपूर्ति प्रणालीलाई थप व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउन आवश्यक सुधारका काम तत्काल अघि बढाउनुपर्ने आवश्यकता औँल्याइन् । बजारमा केही अत्यावश्यक औषधिको अभावबारे जनगुनासो बढिरहेको उल्लेख गर्दै उनले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन ठोस र प्रभावकारी कदम चाल्न निर्देशन दिइन् ।
मन्त्री मेहताले औषधि आपूर्ति तथा वितरणको अनुमति प्राप्त गरे पनि बजारमा नियमित रूपमा औषधि उपलब्ध नगराउने कम्पनीमाथि तत्काल नियमन प्रक्रिया अघि बढाउन औषधि व्यवस्था विभागलाई निर्देशन दिइन् । अनुमति लिएर पनि जिम्मेवारीअनुसार काम नगर्ने कम्पनीलाई कानुनी दायरामा ल्याइने उनको भनाइ थियो ।
नयाँ औषधि आपूर्ति तथा वितरण अनुमतिका लागि निवेदन दिएर लामो समयदेखि प्रक्रियामा रहेका कम्पनीहरूको विषयमा पनि उनले विशेष चासो व्यक्त गरिन् । यस्ता कम्पनीहरूको स्थलगत निरीक्षण, आवश्यक जाँचबुझ र बाँकी प्रक्रिया छिटो टुंग्याउन विभागलाई निर्देशन दिइएको छ ।
औषधि व्यवस्था विभागको नियामक क्षमता अभिवृद्धिका लागि आवश्यक सुधार, स्रोतसाधन र जनशक्ति व्यवस्थापनको योजना तयार गरी मन्त्रालयमा तत्काल पेस गर्न पनि मन्त्री मेहताले निर्देशन दिएकी छन् ।
उनका अनुसार औषधि आपूर्ति तथा वितरण अनुमतिपत्र प्रदान गर्ने प्रक्रियालाई थप पारदर्शी, प्रभावकारी र उत्तरदायी बनाउनुपर्ने आवश्यकता छ ।
मन्त्री मेहताले नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सरकारले निःशुल्क वितरण गर्ने औषधि तथा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने औषधिको गुणस्तरमा कुनै सम्झौता नहुने स्पष्ट पारिन् ।
उनले राष्ट्रिय औषधि प्रयोगशाला र औषधि व्यवस्था विभागलाई ती औषधिको नियमित गुणस्तर परीक्षण तथा प्रभावकारी अनुगमन सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाउन पनि निर्देशन दिएकी छन् ।
